वैशाख २०, काठमाडौं । काठमाडौं अनामनगरस्थित धोवीखोला किनारमा रहेको चर्चित साततले भवनमा अन्ततः डोजर चलाइएको छ । आइतबार खोला तथा नदी किनारामा बनेका अतिक्रमित संरचना हटाउने अभियानअन्तर्गत उक्त भवन भत्काउने काम गरिएको हो ।

घरधनीले नक्सा पास भएको र नियमित कर तिर्दै आएको दाबी गरेपछि सरकारले उक्त विषयमा थप अध्ययन गरेको थियो । धोवीखोला किनारामा विगतदेखि नै अनधिकृत संरचना बढ्दै जाँदा पानीको बहाव अवरुद्ध हुने, बाढीको जोखिम बढ्ने र वातावरणीय समस्या उत्पन्न हुने गरेको थियो। सोही समस्यालाई ध्यानमा राख्दै सरकारले अतिक्रमण हटाउने अभियान तीव्र बनाएको हो।
यस अभियानअन्तर्गत अन्य संरचनाहरू पनि क्रमशः हटाइने सम्बन्धित निकायले जनाएको छ ।