• २०८३ बैशाख १८ गते शुक्रवार

‘उभौली पर्वले हामी सबैलाई संविधानको रक्षा र संरक्षण गर्न प्रेरणा मिलोस्’

खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट

वैशाख १८, काठमाडौं । राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले ‘उभौली पर्वले हामी सबैलाई प्रकृतिको संरक्षण र संवर्द्धन गर्नका साथै सबै नेपाली जनताको बलिदानबाट प्राप्त सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधानको रक्षा र संरक्षण गर्न प्रेरणा मिलोस्’ भनी कामना गर्नुभएको छ ।

उहाँले आज उभौली पर्वका अवसरमा किरात समुदायलगायत सम्पूर्ण नेपाली आमाबुबा, दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक शुभकामना व्यक्त गर्दै कामना गर्नुभएको हो । प्रकृतिसँगको सहअस्तित्व, ऋतु परिवर्तनको स्वागत तथा सामूहिक एकताको प्रतीकका रूपमा मनाइने उभौली पर्वले हाम्रो मौलिक संस्कृति र परम्पराको संरक्षणमा महत्त्वपूर्ण भूमिका खेलेको उहाँको भनाइ छ । उहाँले यस पर्वले प्रकृतिप्रतिको प्रेम एवं सम्मान, सामूहिकता र श्रमप्रतिको आदरलाई अझ सुदृढ बनाउने गरेको पनि बताउनुभएको छ ।

अध्यक्ष दाहालले भन्नुभएको छ, “विविधता हाम्रो पहिचान र शक्ति हो । विविधताभित्रको एकता नै हामी नेपाली हुनुको पहिचान हो, यस्ता मौलिक पर्वहरूले नेपाली समाजमा आपसी सद्भाव, सहिष्णुता र एकता अभिवृद्धि गर्दै राष्ट्रिय एकताको आधारलाई अझ मजबुत बनाएका छन् ।”

उभौली पर्वमा प्राकृतिक प्रकोपबाट बच्न र अन्न बाली राम्रो होस् भनी पूजा गरी भूमि देवतालाई खुसी बनाउने चलन छ । प्रकृतिलाई खुसी तुल्याएर भूमिबाट बढीभन्दा बढी लाभ लिने परम्परा संस्कृतिका दृष्टिले मात्र नभएर हाम्रो कृषिप्रधान देशका लागि थप प्रेरणादायी र सन्देशमूलक भएको अध्यक्ष दाहालको भनाइ छ ।

May be an image of text

Sharing

प्रतिक्रिया दिनुहोस