• २०८३ मङ्सिर ६ गते शनिवार

आन्दोलन र संकटको घडीमा महिलाको भूमिका सधैं अग्रणी : पूर्वराष्ट्रपति भण्डारी

खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट

वैशाख ३, काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपालका हरेक राजनीतिक आन्दोलन र मुलुकमा आइपर्ने संकटका बेला महिलाहरूले अग्रपङ्क्तिमा रहेर नेतृत्वदायी भूमिका खेलेको बताउनुभएको छ।

आज ‘भूमिगत महिला’ पुस्तक चर्चा विषयक कार्यक्रममा आफ्नो धारणा राख्दै पूर्वराष्ट्रपति भण्डारीले इतिहासका विभिन्न कालखण्डमा भएका सङ्घर्षहरूमा महिलाको योगदान अतुलनीय रहेको चर्चा गर्नुभयो। विशेष गरी पञ्चायती व्यवस्था विरुद्धको लडाइँ, २०३५/३६ सालको विद्यार्थी आन्दोलन, २०४६ सालको जनआन्दोलन र २०६२/६३ को ऐतिहासिक आन्दोलनमा महिलाहरूले अग्रमोर्चा सम्हालेको उहाँले स्मरण गर्नुभयो ।

पूर्वराष्ट्रपति भण्डारीले २०६२/६३ को आन्दोलन ताका महिला सहभागिता सुनिश्चित गर्न आफूहरूले खेलेको रणनीतिक भूमिकाबारे पनि चर्चा गर्नुभयो। “राजाको ‘कु’ पछि जब सात दलको मोर्चा बन्यो, हामीले नेतृत्वलाई दबाब दियौँ कि महिलाहरूको एक तिहाइ ९३३५० सहभागिता सुनिश्चित भए मात्र आन्दोलनले गति लिन्छ, ” उहाँले भन्नुभयो, “पार्टीहरूले त्यो कुरा स्वीकार गरेपछि देशभरि महिलाहरूको जुन ज्वारभाटा आयो, त्यसैले आन्दोलनलाई सफलतामा पुर्‍याउन मद्दत गर्‍यो।”

वर्तमान राजनीतिक परिस्थितिको समीक्षा गर्दै पूर्वराष्ट्रपति भण्डारीले अनुभवहीन नयाँ पात्रहरूको उदयले केही प्रश्नहरू उब्जाएको बताउनुभयो। उहाँले भन्नुभयो, “अनुभवी नयाँ पात्र र अनुभव नभएका नयाँ पात्रहरूको आगमनमा फरक हुन्छ। अहिलेको परिणामले हाम्रो राष्ट्रिय एकता, स्वाभिमान, लोकतन्त्र र जनजीविकामा कस्तो असर पर्ने हो भन्ने प्रश्न उठेको छ।”

यस्तो संवेदनशील समयमा पुराना र ठूला राजनीतिक दलहरू एकताबद्ध भएर राष्ट्रिय हितको रक्षाका लागि सक्रिय हुनुपर्नेमा उहाँले जोड दिनुभयो। वर्तमान इतिहास बनिरहेको र आजको कर्मले नै भविष्यको मार्गदर्शन गर्ने उल्लेख गर्दै उहाँले नयाँ पुस्तालाई इतिहासबाट सिक्न आग्रह गर्नुभयो। उहाँले देशले फेरि पनि महिला र अनुभवी नेतृत्वको सक्रियता खोजेको बताउनुभयो।

Sharing

प्रतिक्रिया दिनुहोस