• २०८३ मङ्सिर ५ गते शुक्रवार

स्कटल्याण्डमाथि इङल्याण्डको सहज जित, सुपर ८ को सम्भावना बलियो

खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट

फागुन २, काठमाडौं । जारी टी-२० विश्वकपमा इङल्याण्डले स्कटल्याण्डलाई पाँच विकेटले पराजित गर्दै सुपर ८ पुग्ने सम्भावना बलियो बनाएको छ । पहिले बलिङ रोजेको इङल्याण्डले स्कटल्याण्डलाई १९. ४ ओभरमा १५२ रनमै समेट्यो । जवाफमा इङल्याण्डले १८.२ ओभरमा पाँच विकेट गुमाएर लक्ष्य पूरा गर्‍यो ।

स्कटल्याण्डका लागि कप्तान रिची बेरिंग्टनले ३२ बलमा ४९ रन बनाए भने माइकल जोन्सले २० बलमा ३३ रन जोडे । एक समय ३ विकेट गुमाएर ११३ को बलियो अवस्थामा पुगेको स्कटल्याण्ड इङल्याण्डका स्पिनरहरूको उत्कृष्ट प्रदर्शनपछि दबाबमा पर्‍यो । आदील रशिदले ३ विकेट लिए भने लियाम डसनले २ विकेट झारे । १४ रनभित्र पाँच विकेट गुमाएपछि स्कटल्याण्डको इनिङ्स कमजोर बन्यो ।

१५३ रनको लक्ष्य पछ्याउदा इङल्याण्डको सुरुआत पनि कमजोर रह्यो । तर टम बानटनले अविजित ६३ रनको अर्धशतक प्रहार गर्दै टोलीलाई जिततर्फ डोर्‍याए । ज्याकब बेथेलले ३२ रनको साथ दिए भने अन्त्यतिर विल ज्याक्सले छक्का र चौका प्रहार गर्दै खेल सकाए । यस जितसँगै इङल्याण्डले प्रतियोगितामा पुनरागमन गर्दै अघिल्लो चरण प्रवेशको आशा बलियो बनाएको छ ।

इङल्याण्डको समुह सी मा ३ खेलमा ४ अंक भएको छ र दोस्रो स्थानमा उक्लिएको छ । समुह सी मा वेस्ट इण्डिजको २ खेलमा ४ अंक रहेको छ र शिर्ष स्थानमा रहेको छ । त्यस्तै स्कटल्याण्डको ३ खेलमा २ अंक रहेको छ ।

अब इङल्याण्डले समुह चरणको अन्तिम खेल सोमबार इटालीविरुद्ध खेल्ने छ भने स्कटल्याण्डले मंगलबार नेपालसँग खेल्ने छ ।

Sharing

प्रतिक्रिया दिनुहोस