• २०८३ बैशाख २० गते आइतवार

रैथाने कला र संस्कृतिको संरक्षण गर्न महोत्सव

खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट
पौष २७, काठमाडौं । ‘युवाको जाँगर राष्ट्र निर्माणको आधार’ नाराका साथ मङ्गलबारदेखि १४औँ संस्करणको पोखरा महोत्सव सुरु हुने भएको छ ।
स्थानीय कला, संस्कृति र वेशभूषाको संरक्षण, सूचना प्रविधि एवं औद्योगिक तथा हस्तकलाका सामग्री प्रदर्शनी र बिक्री गर्ने उद्देश्य लिएर युनाइटेड क्लब पोखरा–१० ले यही पुस २९ देखि माघ ११ गतेसम्म उक्त महोत्सव गर्न लागेको हो । महोत्सवको मुनाफाबाट क्लबले वार्षिक रुपमा शिक्षा, स्वास्थ्य, खेलकुद तथा पर्यटन प्रवद्र्धनमा खर्च गर्दै आएको र पोखरामा चिडियाखानाको अवधारणासमेत क्लबले ल्याएको आज यहाँ आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष लोकबहादुर थापाले जानकारी दिनुभयो ।
महोत्सवको मुनाफाबाट क्लबले पोखरा र आसपासका क्षेत्रमा रहेका २० वटा सामुदायिक विद्यालयमा छात्रवृत्ति अक्षयकोष स्थापना गरी विपन्न वर्गका विद्यार्थीलाई छात्रवृत्ति दिनाका साथै ग्रामीण क्षेत्रमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको जानकारी अध्यक्ष थापाले दिनुभयो ।
त्यस्तै क्लबले खेलकुद प्रतियोगिता आयोजना तथा पर्यटन प्रवद्र्धन गर्दै आएको छ भने पोखराको लेखनाथस्थित पचभैयामा खुला चिडियाखानाको अवधारणा तथा निर्माणको पहल गर्नाका साथै पोखराको सेतीनदीको खोँचको छेउमा तारजाली लगाउने र हालै पोखराको लेखनाथस्थित अर्चलेमा रु ६० लाखको लागतमा आर्थिक विपन्न परिवारका बालबालिकालाई लक्षित गरी युनाइटेड छात्रावास निर्माण भइरहेको जानकारी पनि उहाँले दिनुभयो ।
दुई हप्ता चल्ने उक्त महोत्सवबाट रु एक करोड ५१ लाखभन्दा बढी आम्दानी र खर्च रु एक करोड २३ लाख तथा मुनाफा २८ लाख हुने अनुमान गरिएको छ । दुई सय ५० कक्ष रहने उक्त महोत्सवको दुई लाखभन्दा बढीले अवलोकन गर्ने अनुमान आयोजक संस्थाले गरेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस