• २०८३ बैशाख १९ गते शनिवार

मदन भण्डारी कलेज ASOCIO २०२५ अवार्डबाट सम्मानित: डिजिटल रूपान्तरणमा उत्कृष्ट

खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट

मंसिर २, काठमाडौं । मदन भण्डारी मेमोरियल कलेज उत्कृष्ट डिजिटल ट्रान्सफर्मेशन अर्गनाइजेसन अवार्ड २०२५ बाट सम्मानित भएको छ । ताइवानमा कात्तिक २४ देखि २६ गतेसम्म आयोजित Asian-Oceanian Computing Industry Organization (ASOCIO) डिजिटल समिटमा कलेजलाई यो प्रतिष्ठित अवार्ड प्रदान गरिएको हो ।

आज मंगलबार विशेष कार्यक्रमको आयोजना गर्दै कलेजले उक्त उपलब्धिबारे जानकारी गराएको थियो । ASOCIO ले प्रदान गर्ने डिजिटल ट्रान्सफर्मेशन विधामा अवार्ड प्राप्त गर्नुमा, सामुदायिक कलेजका रूपमा स्थापित मदन भण्डारी मेमोरियल कलेजले IT, IDEA-X ह्याकथन, Industry-Academia जस्ता कार्यक्रम सञ्चालन गर्दै विद्यार्थीहरूलाई नयाँ अवसर प्रदान गर्दै आएको उल्लेखनीय योगदान प्रमुख आधार बनेको कलेजले जनाएको छ।

कलेजका यिनै पहलकदमी र नवप्रवर्तनकारी कामहरूले अन्तर्राष्ट्रिय स्तरमा अवार्ड प्राप्त गर्ने आधार बनेको कलेजले जनाएको छ । क्याम्पस प्रमुख डा.बाबुराम अधिकारीले विश्वस्तरका विज्ञ, प्राविधिकहरुसंग कलेजको सम्बन्ध स्थापना गर्न तथा नेटवर्किङका अन्य अवसरहरू सिर्जना गर्न मार्ग प्रशस्त भएको बताउनुभयो । त्यस्तै, विद्यार्थी र प्रशासनले पनि आगामी दिनमा आवश्यक साथ सहयोग लिन नयाँ सम्बन्ध स्थापना भएको उहाँले दाबी गर्नुभएको छ ।

सूचना प्रविधिको क्षेत्रमा विश्वले फड्को मारिरहँदा मदन भण्डारी कलेजले अन्तराष्ट्रिय स्तरको पहिचान बनाउनु भनेकै शिक्षामा प्रविधिले दिएको सकारात्मक परिवर्तन भएको क्याम्पस प्रमुख अधिकारीको भनाइ छ । उहाँले विद्यार्थी, शिक्षक, विभागीय प्रमुख, सहयोगी संस्थालगायतलाई धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा पनि यस्तै नवप्रवर्तनका गतिविधिहरु गर्दै अघि बढ्नुपर्नेमा जोड दिनुभएको छ ।

कार्यक्रममा कलेजका आइटी संकायका प्राध्यापक सुवास खड्काले नेपालका सामुदायिक कलेजमध्ये मदन भण्डारी मेमोरियल कलेजले अवार्ड प्राप्त गर्नु देशकै डिजिटल रूपान्तरणको उत्कृष्ट उदाहरण भएको बताउनुभयो । उहाँका अनुसार, पछिल्ला वर्षहरूमा कलेजले पाएको यूजिसी मान्यता, शिक्षाको डिजिटलीकरण, व्यवस्थापन सुधार, चरणबद्ध प्रगति तथा सामुदायिकस्तरमा नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएको हुँदा यो सम्मान प्राप्त गर्न सफल भएको हो ।

त्यस्तै, मदन भण्डारी मेमोरियल माध्यमिक विद्यालयका प्रधानाध्यापक कमल न्यौपानेले पनि ASOCIO ले प्रदान गरेको सम्मानले थप जिम्मेवारी बढाएको बताउनुभयो । एसिया प्रशान्त क्षेत्रमा कलेजले हाँसिल गरेको यो उपलब्धिले नेपाललाई नै विश्व जगतमा चिनाएको उहाँको धारणा छ । साथै शिक्षालाई समयसापेक्षित र समावेशी बनाउन कलेजलाई अझै धेरै हौसला मिलेको उहाँको जिकिर छ ।

कार्यक्रममा सहायक क्याम्पस प्रमुखद्वय तारा प्रसाद गौतम (प्रशासनिक) तथा प्रज्वल मान श्रेष्ठ (शैक्षिक), विभागीय प्रमुख, शिक्षक, कर्मचारी, विद्यार्थी लगायतको उपस्थित रहेको थियो ।

Sharing

प्रतिक्रिया दिनुहोस