भदौ १०, काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले हरितालिका तीज सांस्कृतिक सहिष्णुता र सामाजिक एकताको प्रतीकका रुपमा रहेको भन्दै शुभकामना व्यक्त गर्नुभएको छ । हरितालिका तीज २०८२ का अवसरमा आज शुभकामना सन्देश दिँदै उहाँले तीज पर्वले चेली–माइती, साथी–सङ्गी, परिवार एवं आफन्तजनबीचको सम्बन्धलाई प्रगाढ बनाउने बताउनुभयो ।

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले तीज पर्वले जीवनशैली, संस्कृति र सहिष्णुताको उज्ज्वल परम्परा बोकेको बताउनु भएको छ । भण्डारीले तीजलाई विवाहित महिलाले आफ्ना जीवनसाथी र परिवारको दीर्घायु, सुस्वास्थ्य तथा कल्याणको कामना गर्ने धार्मिक पर्व मात्र नभई विवाहपश्चात् महिलाले जन्मघर र कर्मघरबीचको भावनात्मक दूरी कम गर्ने अवसरको रूपमा पनि लिइने बताउनु भएको छ ।
उहाँले सन्देशमा नेपाली नारीको महान् पर्व हरितालिका तीजको सुखद अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण दिदीबहिनीमा पारिवारिक सुख, शान्ति, समृद्धि एवं सामाजिक एकता र सद्भाव कायम होस् भनी शुभकामना व्यक्त गर्नुभएको छ । भण्डारीले पछिल्ला वर्षहरूमा तीज मनाउने क्रममा देखिएको भड्किलोपन र खर्चिलोपन चिन्ताको विषय भएको उल्लेख गर्दै धार्मिक तथा सांस्कृतिक मूल्य संरक्षणमा सबैलाई सचेत रहन आग्रह गर्नुभएको छ ।
पूर्वराष्ट्रपति भण्डारीले देशको द्रुततर आर्थिक विकास एवं सामाजिक रुपान्तरण गर्नुपर्ने आजको आवश्यकतालाई सबैले हृदयङ्गम गरी चाडपर्वहरु मनाउँदा मितव्ययिता अपनाउन आवश्यक पर्ने भन्नुभएको छ ।
