असोज १५,काठमाडौं । प्याज भारतका सञ्चारमाध्यमबाट आइतबार नेपालमा प्याज नपठाउने समाचार सार्वजनिक भएसँगै सोमबार बिहानैदेखि झनै महँगो भएको छ ।
यसको असर थोकदेखि खुद्रासम्म परेको छ । व्यापारीले यसअघि नै खरिद गरेर राखेको प्याजको समेत कृत्रिम अभाव गराएर महँगो भाउमा बिक्री वितरण गर्न थालेका छन् ।
कालीमाटीमा मात्रै दैनिक २२ देखि २५ टन प्याज भारतबाट आयात हुने गरेकोमा मङ्गलबार तीन टन मात्रै आएको व्यवसायीले बताएका छन् । व्यवसायीका अनुसार भारतबाट प्याज आउन ठप्प भएको छ तर भन्सारमा आइसकेका मात्रै आउने क्रममा रहेकाले फाटफुट आइरहेका छन् ।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका कार्यकारी निर्देशक तेजेन्द्र पौडेल कालीमाटी बजारमा मङ्गलबार तीन टन मात्रै प्याज आएकाले बजारमा यसको अभाव देखिएको बताउँछन् । दैनिक २२/२४ टन प्याज आउने गरेको बजारमा तीन टन आउँदा त हामी भारतसँग मात्रै परनिर्भर रहेको र त्यहाँ रोक लगाएपछि बजारमा अभाव भएको उहाँको भनाइ छ ।
प्याज अन्य देशमा निर्यात गर्दा भारतमै महँगो भएको भन्दै भारतीय नागरिकबाट चर्को विरोध भएपछि भारत सरकारले त्यहाँको प्याज निर्यातमा रोक लगाएको छ । यसको प्रत्यक्ष असर नेपालमा परेको छ ।