साउन ३१, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई आज दिउँसो काठमाडौं ल्याइँदैछ। सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका लामिछानेलाई भैरहवाबाट नख्खु कारागारमा सरुवा गर्न लागिएको हो।

लामिछानेको निवेदनको आधारमा कारागार विभागले हिजो उनको सरुवाको निर्णय गरेको हो। उनलाई दिउँसो ३:१० बजे बुद्ध एयरको उडानमार्फत काठमाडौं ल्याइने जनाइएको छ। लामिछानेलाई स्वागत गर्न उनका समर्थकहरू त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल जाने तयारीमा छन्। उनकी पत्नी निकिता लामिछाने पनि स्वागतका लागि एयरपोर्ट जानेछिन्।
रास्वपाले सभापति लामिछानेविरुद्ध राजनीतिक प्रतिशोधस्वरूप कारबाही भएको आरोप लगाउँदै हस्ताक्षर अभियान सञ्चालन गरिरहेको छ।
लामिछानेलाई गत चैत २५ गते उच्च अदालत बुटवलको आदेशपछि रुपन्देही कारागारमा राखिएको थियो।