साउन ३०, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भक्तपुरका प्रमुख मालपोत अधिकृत कुमार आचार्य र कार्यालय सहयोगीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । भक्तपुर जिल्लाको चाँगुनारायण नगरपालिकास्थित १४ रोपनी चार आना जग्गालाई मोहीका नाममा दर्ता गरिदिने प्रयोजनका लागि २४ लाख ५० हजार रुपियाँ घुस लिएको दाबीसहित आयोगले बुधबार विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरेको हो ।

सेवाग्राहीको उजुरीका आधारमा आयोगको केन्द्रीय कार्यालयबाट खटिएको टोलीले केही समयअघि दुवैलाई सो रकमसहित नियन्त्रणमा लिएको थियो । साथै टोलीले आचार्य र राउतको मोबाइल डिभाइस तथा उक्त रकम बरामद गरेको थियो ।
अनुसन्धान क्रममा उनीहरूद्वारा साबिक चाँगुनारायण गाविस वडा नं. ५ ‘ख’ स्थित १४–४–०–० क्षेत्रफलको जग्गामा मोही बाँडफाँट/नामसारीका लागि सहज वातावरण बनाइदिने बहानामा सेवाग्राहीसँग मिलेमतोमा घुस माग गरिएको पुष्टि भएको आयोगले जनाएको छ । आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलका अनुसार आरोपितद्वयले पूर्वयोजना अनुसार २४ लाख ५० हजार रुपियाँ घुस लिएको पुष्टि भएको बताउनुभयो ।
दुवैलाई सोही रकमबराबर बिगो तथा भ्रष्टाचार निवारण ऐन अनुसार कारबाही माग गरिएको छ ।