• २०८३ जेष्ठ ६ गते बुधवार

पर्यटन विभाग भृकुटीमण्डपमा कार्यरत निर्देशक यादवविरुद्ध भ्रष्टाचार मुद्दा दायर

खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट

साउन ३०, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गतको पर्यटन विभाग भृकुटीमण्डपमा कार्यरत निर्देशक (सिडिई) सचिन्द्रकुमार यादवविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । गैरकानुनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको आरोपमा यादवविरुद्ध बिहीबार विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरिएको हो । यादवलाई करिब ९७ लाख रुपियाँ बिगो तथा भ्रष्टाचार निवारण ऐन अनुसार कारबाही माग गरिएको छ । आयोगले यादवले २०६६ जेठ २४ गते सरकारी सेवा प्रारम्भ गरेको मितिदेखि २०७९ साउन २९ गतेसम्मको अवधिको आम्दानी तथा खर्च विवरणको तुलना गरेको थियो ।

अध्ययन क्रममा विभिन्न शीर्षकमा यादव र निजका एकाघर परिवारका सदस्यले जाँच अवधिमा दुई करोड ६८ लाख १८ हजार नौ सय रुपियाँ आर्जन गरेको देखिएको थियो । तर व्ययतर्फ भने तीन करोड ६५ लाख चार हजार ४५३ रुपियाँ देखिएको थियो । आम्दानी र खर्चको तुलना गर्दा सरकारी सेवामा रहेको समयमा यादवको ९६ लाख ८५ हजार ५५३ रुपियाँबराबरको सम्पत्तिको स्रोत पुष्टि नभएको देखिएको आयोगले जनाएको छ । आयोगले यादवलाई सोही रकमबराबर बिगो तथा भ्रष्टाचार निवारण ऐन अन्तर्गत कारबाही माग गरेको छ ।

यादवले वार्षिक रूपमा पेस गरेको सम्पत्ति विवरणमा वास्तविक सम्पत्ति विवरण उल्लेख नगरी सम्पत्ति लुकाइछिपाई झुटा विवरण पेस गरेकोसमेत पुष्टि भएकाले भ्रष्टाचार निवारण ऐन–२०५९ को दफा १६ को उपदफा (२) बमोजिमको कसुरमा थप कैद जरिबाना माग पनि आयोगले गरेको छ ।

साथै यादवले सार्वजनिक पदमा रहँदा गैरकानुनी रूपमा आर्जन गरेको सम्पत्ति पत्नी आशाकुमारी यादवको नाममा राखेको देखिएको हुँदा उक्त सम्पत्ति प्रचलित कानुनबमोजिम जफत गर्ने प्रयोजनार्थ यादवलाई पनि प्रतिवादी कायम गरिएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस