साउन ३०, काठमाडौं । विशेष अदालतले सर्लाहीको बागमती नगरपालिकाका नगरप्रमुख भरतकुमार थापालाई नदीजन्य पदार्थको हिनामिना मुद्दामा आठ वर्ष कैद सजायको फैसला गरेको छ । साउन २१ गते कसुुर ठहर भई सजाय निर्धारणका लागि पेस भएको मुद्दामा न्यायाधीशहरू टेकनारायण कुँवर, मुरारीबाबु श्रेष्ठ र विदुर कोइरालाको इजलासले आठ वर्ष कैद सजाय निर्धारण गरेको हो । अदालतले उक्त प्रकरणमा दोषी ठहर भएका विमलकुमार पोखरेल र सागर पौडेललाई पनि समान आठ/आठ वर्ष कैद सजाय गरेको छ ।

अदालतले तिनै जना प्रतिवादीलाई जनही आठ वर्ष कैदसँगै बिगोको दामासाही हुने १० करोड नौ लाख ७८ हजार २९९ रुपियाँ जरिबाना फैसला गरेको छ । बागमती नगरपालिकाको ३० करोड २९ लाख ३४ हजार ८९७ रुपियाँबराबरको नदीजन्य पदार्थ हिनामिना आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको थियो । अदालतले अपराधपीडित संरक्षण कोषमा प्रतिवादीबाट ४० लाख ३९ हजार १३१ रुपियाँ दाखिला गर्नुपर्ने ठहर पनि गरेको छ ।
विशेषले यसअघि नगरप्रमुख थापालाई गैरकानुनी सम्पत्ति आर्जन मुद्दामा पनि भ्रष्टाचारी ठहर गरेको थियो । भ्रष्टाचार मुद्दामा थापालाई अदालतले एक वर्ष कैद ठहर गरेको थियो । अदालतले गैरकानुनी सम्पत्ति मुद्दामा थापालाई बिगो अनुसार तीन करोड ४५ लाख २२ हजार ३८७ रुपियाँ जरिबाना फैसला गरेको छ । बिगोले बढाएको सम्पत्ति जफतको फैसला पनि विशेषले गरेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जाँच अवधिमा थापासँग तीन करोड ४५ लाख २२ हजार ३८७ रुपियाँ गैरकानुनी सम्पत्ति रहेको दाबी गरेको थियो । अख्तियारको दाबी अनुसारै अदालतले ठहर गरेको हो । जाँच अवधिमा कुल आय नौ करोड १४ लाख ३१ हजार तीन रुपियाँ र कुल व्यय १२ करोड ५९ लाख ५३ हजार ३९१ रुपियाँ भएको अख्तियारको विश्लेषण थियो ।