साउन २२, काठमाडौं । भिसाको उद्देश्य विपरीत नेपालमा बसी शंकास्पद क्रियाकलापमा संलग्न फ्रान्सका एक जना नागरिकलाई अध्यागमन विभागले नियन्त्रणमा लिएको छ। सन् २०१४ देखि पटक-पटक नेपाल आउने जाने गरेकी उनी प्रत्येक वर्षको अन्त्यतिर टर्की, यूएईलगायतका तेस्रो मुलुक जाने र पुनः नेपाल प्रवेश गर्ने व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको हो।

उनी हालसम्म १५ पटकभन्दा धेरै पटक नेपाल आएको र त्यतिनै पटक नेपालबाट प्रस्थान भएको देखिन्छ। उनी अध्यागमनको खोजीको सूचीमा थिइन्।
पटक पटक वाल्मिकी विद्यापीठमा भर्ना भई अध्ययन भिसा लिने तर अध्ययन पूरा नगरी पर्यटक भिसा लिएर नेपालमा व्यापार व्यवसाय समेत सञ्चालन गर्दै आएको देखिएको प्रहरीको भनाइ छ।
उनले लैनचौरमा टेरा साम्पा नामको बेकरी सञ्चालन गरेको र ललितपुरको रैथाने फुड्समा समेत सहलगानी गरी व्यवसाय सञ्चालन गरेको देखिएको छ।
हप्ताको ३ देखि ४ दिन बेकरी खोल्ने र आफ्नै ई-सेवा खातामार्फत् अनलाइन भुक्तानी लिने गरेको देखिएको छ। उनले कमै मात्र ग्राहकसँग प्रत्यक्ष भेटघाट गर्ने गरेको पनि खुलेको छ।
नेपालमा पर्यटक भिसामा बसेको विदेशी नागरिकले व्यवसाय सञ्चालन गर्न व्यावसायिक भिसा लिएको हुनुपर्छ। त्यस्तै काम गर्नेले भने वर्किङ भिसा पनि लिएको हुनुपर्छ।
व्यवसायका अतिरिक्त अन्य कार्यमा समेत संलग्न हुँदै आएकी उनको क्रियाकलाप शंकास्पद देखिएको प्रहरीको भनाइ छ। अध्यागमन ऐन, २०४९ को दफा ६ मा विदेशीको प्रवेश, उपस्थिति र प्रस्थानसँग सम्बन्धित लिखत अध्यागमन अधिकृत वा महानिर्देशकले तोकेको कर्मचारीले जुनसुकै स्थान र समयमा जाँच गर्न सक्ने र कब्जामा लिन सक्ने व्यवस्था छ।
अध्यागमन नियमावली, २०५१ मा पर्यटक भिसामा बसेको विदेशी नागरिक र परिवारको सदस्यले कुनै उद्योग, व्यापार, व्यवसाय वा संस्थामा काम गर्न नपाउने व्यवस्था छ।
यसै गरी विदेशीले जुन उद्देश्यको लागि भिसा प्राप्त गरेको हो सोबाहेक अन्य काम गर्न पाइने छैन भन्ने व्यवस्था छ।
यसरी गैरकानुनी रुपले बसेका विदेशीलाई महानिर्देशकले ५० हजार रुपैयाँसम्म जरिवाना गर्ने र अवधी तोकी वा नतोकी नेपाल पुनः प्रवेश गर्न नपाउने गरी निष्काशन गर्ने कानुनी व्यवस्था छ।
अध्यागमन विभागका महानिर्देशक रामचन्द्र तिवारीले नेपालमा भिसाको उद्देश्य विपरीत बसेका वा शंकास्पद गतिविधिमा संलग्न विदेशी नागरिकलाई नियन्त्रणमा लिई अध्यागमन कानुन बमोजिम कारवाही गरिने बताएका छन्।