• २०८३ जेष्ठ २२ गते शुक्रवार

एनएसएल : चितवनसँग पनि झापाको बराबरी

खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट

चैत २४, काठमाडौं । खेलको अन्त्यतिर सम्हालिन नसकेपछि एफसी चितवनले नेपाल सुपर लिग (एनएसएल) मा आज झापा एफसीसँग बराबरी खेलेको छ। दशरथ रंगशालामा चितवन र झापाले १-१ को बराबरी खेलेका छन्। इन्ज्युरी समयमा सम्हालिन नसक्दा चितवन लगातार तेस्रो जित निकाल्न चुकेको हो।

झापाले भने तेस्रो खेलमा गोलको खाता खोलेको छ। पाँचौं मिनेटमा चितवनका भिक्टर मानसारेले बक्सको एजबाट हानेको प्रहार झापाका गोलकिपर अन्जल श्रेष्ठले बचाए। लगत्तै आठौं मिनेटमा शिशिर लेखीको प्रहार पोलमा लाग्दा अर्को मौका चितवनले खेर फाले।

दशौं मिनेटमा झापाका अल्हाजी गेरोले बक्सभित्रबाट हानेको पावरफुल सटलाई गोलकिपर अमाइ नाइटले उत्कृष्ट बचाउ गरे।

२८ औं मिनेटमा भने चितवनले अग्रता बनायो। सुमित श्रेष्ठले अजामद अब्दुल्लाहसँग खोसेर दिएको पासमा अन्जन विष्टको प्रहार डिफेन्डरलाई डिफ्लेक्ट भयो। सो बललाई शिशिरले टोरिक जेब्रिनलाई दिए। उनले क्लोज रेन्जबाट गोल गरे।

१-० ले पछि परेको झापाका अल्हाजी गेरोले फ्री हेडर मिस गरे। झापाले बराबरी गोल फर्काउने मौका गुमायो। पहिलो हाफमा चितवनले १-० को अग्रता बनायो।

खेलको ५८ औं मिनेटमा चितवन आत्मघाती गोल गर्नबाट जोगियो। झापाका छिरिङ लामाको क्रसलाई क्लियर गर्ने क्रममा जोनाथन कमयाम्पबेलको सट पोष्टमा लागेर फर्कियो। सो बललाई चितवनका किपर अमाल नाइटले कलेक्ट गरे।

अग्रता पछि चितवनले डिफेन्सिभ रणनीति अपनायो। झापाको आक्रमणलाई जोड दियो। ८२ औं मिनेटमा अभिनाष श्याङतानको पावरफुल प्रहार बक्स बाहिरबाट बाहिरियो।

८८ औं मिनेटमा झापाका आरसिस लजारले करिब २५ यार्ड टाढाबाट हानेको प्रहार पोष्टमा लागेर फर्कियो। चितवनले निर्धारित ९० मिनेटमा बनाएको १-० को अग्रता इन्ज्युरी समयमा गुमायो।

चितवनका निरज चौधरीले एरोन थापालाई बक्स भित्र लडाएपछि झापाले पेनाल्टीको अवसर प्राप्त गर्यो। अल्हाजी गेरोले प्राप्त पेनाल्टीमा गोल गरे।

यो झापाको जारी सिजनको पहिलो गोल हो। त्यसपछि झापालाई जित दिलाउन आरसिस लजार चुके। अनमार्क रहेका उनले प्रहारले सही दिशा लिन सकेन। खेल १-१ को बराबरीमा सकियो।

चितवनले ३ खेलबाट ७ अंक बनाएको छ। उसले पहिलो खेलमा पोखरा थन्डर्सलाई २-० र अर्कोमा बुटवल लुम्बिनीलाई १-० ले हराएको थियो।

लगातारको तेस्रो बराबरीमा झापाले ३ अंक नै जोडेको छ। झापाले पहिलो खेलमा बुटवलसँग र दोस्रो खेलमा काठमाडौंसँग गोल रहित बराबरी खेलेको थियो।

Sharing

प्रतिक्रिया दिनुहोस