फागुन ८, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले ज्ञान, दर्शन, योग र खोजको उद्गमस्थल नेपालमा दीक्षित विद्यार्थीले सदैव इमानदार भएर देशका लागि काम गर्नुपर्नेमा जोड दिनुभएको छ ।

कास्कीको ढुङ्गेपाटनमा आज आयोजित पोखरा विश्वविद्यालयको २०औँ दीक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आत्मविश्वासका साथ इमानदार भई समाजका लागि सकारात्मक काममा आफूले प्राप्त गरेको ज्ञानको उपयोग गर्न दीक्षित विद्यार्थीसँग आग्रह गर्नुभयो ।
उहाँले सानो देशमा छु भन्ने हीनताबोधी भावना नराख्न आग्रह गर्दै कुनै पनि देशको सार्वभौमसत्ता सानो वा ठूलो हुँदैन भन्ने विषयमा स्पष्ट भई सदैव नेपाल र नेपालीलाई केन्द्रमा राखेर काम गरौँ भन्नुभयो । समारोहमा कुलपति ओलीले विश्वविद्यालयका विभिन्न सङ्काय र तहका गरी सात हजार ८७२ विद्यार्थीलाई दीक्षित गराउनुभयो । साथै उहाँले कुलपति पदकबाट सर्वाेत्कृष्ट विद्यार्थीलाई पुरस्कृत पनि गर्नुभयो ।