पुस ६, बाजुरा। बाजुरा जिल्लाको पूर्वी उत्तरी भेगको जगन्नाथ गाउँपालिकाको गोत्री केन्द्रविन्दु बनाएर पाँच दशमलव २ रेक्टर म्याग्नेच्युडको भूकम्प गएको छ ।
भूकम्प मापन केन्द्र सुर्खेतका अनुसार शनिबार बिहान ४ बजेर १४ मिनेटमा भूकम्प गएको हो । भूकम्प गएपछि जिल्ला सदरमुकाम मार्तडीमा स्थानीय घरबाहिर निस्केका थिए । भूकम्प गएपछि स्थानीयले घर बाहिर निस्किदै होहल्ला गरेका हुन् ।
पुनः भूकम्प आउने डरले स्थानीय त्रासमा रहेका छन् । भूकम्प गएपछि क्षतिको के कति भयो, भन्नेबारेमा यकिन हुन सकेको छैन ।
भूकम्पबाट क्षतिको विवरण सङ्कलन हुँदै
बिहान गएको भूकम्पबाट भएको क्षतिको विरण सङ्कलन गर्न सुरु गरिएको छ । जगन्नाथ गाउँपालिकाको गोत्री केन्द्रविन्दु बनाएर आज बिहान आएको ५ दशमलव २ रेक्टरको भूकम्पका कारण मानवीय क्षति नभए पनि सामान्यरूपमा स्थानीयहरूको घर चर्किएको निमित्त प्रमुख जिल्ला अधिकारी रूपक मण्डलले जानकारी दिनुभयो ।
विकट हिमाली जिल्लामा रूपमा रहेको यहाँका स्थानीय पालिकामा आवतजावतमा समय लाग्ने भएकाले प्रहरीको प्रारम्भिक विवरणअनुसार मानवीय क्षति नभएको र भौतिक क्षतिको विवरण सङ्कलन जारी रहेको निमित्त प्रमुख जिल्ला अधिकारी मण्डलले बताउनुभयो ।
भूकम्पका कारण बूढीनन्दा नगरपालिका–४ मा एक घर भत्किएको मण्डलले बताउनुभयो । घरभित्र तीन बालबालिका बसेको अवस्थामा घर भत्किएको र बालबालिकालाई सकुशल उद्धार गरिएको उहाँको भनाइ छ ।
जिल्लाका नौवटै स्थानीय तहका जनप्रतिनिधि, स्थानीय र प्रहरीसँग समन्वय गरी क्षतिको विवरण सङ्कलन कार्य भइरहेको जिल्ला प्रशासन कार्यालय बाजुराले जनाएको छ । भूकम्प मापन केन्द्र सुर्खेतका अनुसार शनिबार बिहान ४ बजेर १४ मिनेटमा भूकम्प गएको हो । भूकम्प गएपछि जिल्ला सदरमुकाम मार्तडीमा स्थानीय घरबाहिर निस्केर होहल्ला मच्चिएको थियो ।