आज वि.सं. २०८१ कार्तिक २३ गते शुक्रवार तदनुसार ई. सं २०२४ नोभेम्बर ०८ तारिख, कालयुक्त नामक संवत्सर, सूर्य दक्षिणायन, शरद् ऋतु, कलिगत ५१२५, शाके १९४६, नेपाल सं. ११४५, किरातवर्ष ५०८४, मञ्जुश्री वर्ष २८६०, हिजरी सं. १४४६, चन्द्रोदय : दिउँसो १०:५९ बजे र चन्द्रास्त : बेलुका १०:३१ बजे, सूर्योदय : बिहान ०६:२० बजे र सूर्यास्त : साँझ ०५:१३ बजे, कार्तिक शुक्लपक्ष (कछलाथ्व) सप्तमी तिथि, बेलुका ०७:५९ बजेसम्म, त्यसपछि अष्टमी तिथि, उत्तराषाढा नक्षत्र, बिहान ०९:३५ बजेसम्म, त्यसपछि श्रवण नक्षत्र, चन्द्रमा मकर राशिमा (अहोरात्र व्याप्त)

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
व्यक्तित्व विकासका लागि प्रयास गर्ने समय हो, पार्टनरका तर्फबाट पनि कुनै खुसी हुने कुरा सुन्न पाइने छ र प्रसन्नता बढ्नेछ । अद्भूत क्षमताको उपयोग गरी ठोस उपलब्धि लिन सकिने राम्रै समय छ, तर पनि आर्थिक पक्ष र घरायसी वातावरणमा केही उतारचढाव देखा पर्नसक्छ । आत्मविश्वास र दृढतामा बृद्धि हुनुका साथै मज्जाले परिश्रम गर्ने दिन हो ।
बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
धार्मिक÷सांस्कृतिक काममा खटेर जस पाउने समय छ । सीप र बुद्धिकौशलको प्रयोग गरी मान्यजन र विशिष्ट व्यक्तिको सद्भाव बटुल्न सकिने छ । ज्ञानको भण्डार पूर्ण हुने तथा दार्शनिक भावना जाग्ने समय हो, साथीहरू र गुरुसँग छलफल गरेमा दिमागलाई अझ तिखार्न पाइने छ । भाग्यले साथ दिने समय हो ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
यन्त्र वा उपकरणको प्रयोगमा सावधान हुनुपर्छ, विवाद वा लफडामा पनि पछि हट्नुहोला, समस्या परेमा सिनियर कर्मचारीको सहयोग लिनु बेस हुनेछ । पार्टनरको चासो र चिन्तामा मात्र केन्द्रित हुने समय होइन, केही समय आफ्नो मनको खुसी र सुस्वास्थ्यका निम्ति छुट्याएको राम्रो हुन्छ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
कलात्मक कार्य (अभिनय, गायन, वादन, नृत्य, भिडियो वा चलचित्रको काम, डेकोरेशन, ड्रेस डिजाइनिङ) जस्ता काम अथवा उपहार वा मनोरञ्जनका सामाग्रीमा राम्रो देखिन्छ । रूपसौन्दर्य र गहनागुरियामा आकर्षण बढ्नेछ, सिर्जनात्मक काम गीतसङ्गीत, नृत्य÷अभिनय वा कला र साहित्यका विषयमा रुचि जाग्ने समय हो ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
लोकप्रियता बढ्ने तथा साझेदारी व्यवसायमा लाभ पाउने समय हो, तथापि अधिकार प्राप्ति वा भविष्यको चिन्ताले सताउन सक्छ, पहिलेका सहयोगीहरू प्रतिस्पर्धामा उत्रिन सक्छन्, तापनि चुनौती चिर्दै काम बनाउन सकिने छ । कमजोरीलाई माध्यम बनाएर शत्रु हाबी हुने समय छ, विश्वासिलो साथी वा सहयोगी कर्मचारीले नै समस्या बल्झाउन सक्छन्, सचेत हुनुपर्छ ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
आफैंले कुनै प्राविधिक वा सीपमूलक ज्ञान प्राप्त गरेर लाभान्वित बन्ने समय छ, उता घरमा छोराछोरी वा भाइबहिनीका समस्यामा केन्द्रित हुनुपर्नेछ । मनको कुरो साथीले बुझिदिंदा आपसी सम्बन्धमा विश्वास र भरोसाको वातावरण बन्नेछ, एकान्तमा रमाउँदै भावना आदानप्रदान हुने समय हो ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
घरपरिवारमा राम्रो देखिन्छ, विभिन्न कुराको लाभ पाउने समय हो, तर कुरा काट्ने र खिसीट्युरी गर्नेहरूको क्रियाकलाप देखेर खिन्न बन्न सक्नुहुन्छ । सोच्ने शक्ति र निर्णयात्मक क्षमतामा कमी आउने दिन हो । आज हरेक कुरामा यो गरौं कि त्यो गरौं भन्ने अलमल हुनसक्छ । यो जीवनको त्यस्तो चरण हो, जसमा कार्यक्षेत्र र पारिवारिक समस्यालाई सन्तुलनमा राख्ने प्रयास गर्नुपर्छ ।
बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
सामूहिक काम वा सामाजिक क्रियाकलापमा संलग्न हुँदा फुर्सद पाइँदैन र लवमेटलाई छुट्टै समय दिन नपाउनाले वैचारिक मतभेद हुनसक्छ । यो समय घमण्ड र जिद्दीपना बढ्ने समय हो । याद गर्नुहोला, अवसर आए पनि हतारको कामले लतरपतर हुनसक्छ । कामप्रतिको समर्पण भावका माध्यमबाट ठूलो लाभ मिल्ने समय छ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
घरपरिवारका सदस्य, मित्र र नातागोता माझको सम्बन्धलाई सुदृढ बनाउन सम्बन्ध÷सम्पर्क राख्ने दिन हो, कार्यक्षेत्रमा खटेबमोजिम लाभ पाउन सकिने छ । नाफाका दृष्टिले राम्रै समय देखिन्छ, तर वाचा पूरा गर्न नसक्नाले सेवाग्राहीको आलोचना खेप्नुपर्ने हुन्छ, बोली र व्यवहारमा नम्रता अपनाउनु होला ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
आत्मविश्वास जाग्नेछ, नयाँ कुरो जान्ने उत्सुकता बढ्नेछ, आलस्य नगरी लक्षप्रति उन्मुख भएमा उच्च सफलता हासिल गर्ने दिन हो । मनमा उत्साह र शरीरमा स्फूर्तिको उदय हुनेछ । सबैले व्यक्तित्व र कार्यशैलीको प्रशंसा गर्नेछन्, खुट्टा तान्ने र कुरा काट्नेहरू अब आफैं तर्किएर हिंड्ने समय आएको छ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
सोच्दै नसोचेको विषय वा क्षेत्रमा मन केन्द्रित हुनेछ । पढाइ छाड्ने वा फ्याकल्टी नै फेर्ने नकारात्मक सोचसमेत पलाउन सक्छ । खर्चको मात्रामा अचानक बृद्धि हुनसक्छ, अझ नजिकैको आफन्त वा मनमिल्ने साथीसँगको साझेदारीमा कुनै कारोबार गर्नुछ भने आज सावधानीपूर्वक कदम चाल्नु आवश्यक देखिन्छ, अन्यथा आर्थिक क्षति हुने दिन हो ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
खर्चमा अचानक बृद्धि हुने समय छ, जोखिम मोलेर कुनै पनि काम नगर्नु होला, धैर्य र संयमता आजका मित्र हुन् । थालेको काम बीचमा नै अवरुद्ध भएको छ भने फेरि पनि प्रयास गर्ने समय हो, खर्च बढे पनि विगतको लगानी हातलागी हुनेछ ।