आज वि.सं. २०८१ वैशाख २६ गते बुधवार तदनुसार ई. सं. २०२४ मई ०८ तारिख, कालयुक्त नामक संवत्सर, सूर्य उत्तरायण, वसन्त ऋतु, कलिगत ५१२५, शाके १९४६, नेपाल सं. ११४४, किरातवर्ष ५०८३, मञ्जुश्री वर्ष २८६०, हिजरी सं. १४४५, चन्द्रास्त : साँझ ०६:३२ बजे र चन्द्रोदय : अमावस्या भएकाले रातभरि चन्द्रोदय हुँदैन, सूर्योदय : बिहान ०५:२१ बजे र सूर्यास्त : साँझ ०६:४१ बजे, वैशाख कृष्णपक्ष (चौलागा) अमावस्या÷औंसी तिथि, बिहान ०९:०२ बजेसम्म, त्यसपछि प्रतिपदा तिथि, भरिणी नक्षत्र, दिउँसो ०२:११ बजेसम्म, त्यसपछि कृतिका नक्षत्र, चन्द्रमा मेष राशिमा, बेलुका ०७:५७ बजेसम्म, त्यसपछि बृष राशिमा

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
चिताएका काम सम्पादन हुनेछन्, हाकिम वा जानकार व्यक्तिको सहयोग र सहानुभूति प्राप्त हुनेछ । सेवाग्राहीलाई प्रभावित पारेर सम्मान पाउने समय हो । मानसिक शान्तिको आभास हुनेछ, पार्टनरले तपाईंको भावना बुझ्नेछन्, कतै एकान्त स्थलमा बसेर भावना साटासाट गर्न र रमाउन पाइने छ । बोलीमा सामर्थ्य भएको दिन हो ।
बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
सफलता हासिल गर्न प्रतिस्पर्द्धामा जानुपर्ने समय छ, कारोबारमा पनि लगानी बढाउनुपर्ने परिस्थिति देखिन्छ, तथापि अहिलेको लगानीले पछिलाई फाइदा पुग्नेछ । तालसाँचो बलियो बनाउनु होला, सानो भुलचुकमा ठूलो नोक्सानी हुनसक्छ । अनावश्यक खर्चको योग भएकाले किनमेल गर्दा पनि सजग रहनुपर्छ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
जीर्णोद्धार वा मर्मतसम्भार सम्बन्धी कार्यका लागि योजना बनाइने छ । अर्काको सहयोगका लागि केही समय प्रदान गर्नुपर्ने हुन्छ, तर प्रयास गरेमा अड्किएको वा फँसेको धन हात पर्ने दिन हो । कुनै पुरानो समस्यामा घोत्लिनुपर्ने तथा असमझदारी बढ्नाले कार्यक्षेत्र प्रभावित बन्नसक्ने दिन छ । तर पनि सहकर्मी र सिनियर्सको सहयोग पाउने दिन हो ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
काममा सहयोगी, नोकरचाकर वा अनुयायीको सहयोग लिन सकिने समय छ । घरखाँचो टार्न व्यवस्थापन गर्ने दिन हो, केही खर्चबर्च जुटाउनुपर्ने हुन्छ । आफ्नो काममा तन्मय भएर थप लाभ उठाउने समय हो । लेनदेनको कारोबार, सार्वजनिक क्षेत्र वा सरकारी कामका माध्यमबाट फाइदा हुनेछ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
आजको दिन तपाईंको आफ्नै हातमा छ, प्रयास गरेमा राम्रो उपलब्धि हासिल हुने तथा अल्छी गरेमा सुनौलो अवसर पनि गुम्नसक्ने समय हो । नयाँ जानकारी र समाचारहरू प्राप्त गरी अपडेट हुने समय हो, कार्यस्थलमा विशेष भूमिका निर्वाह गर्ने समय छ, हाँके÷ताकेका काममा भाग्यले साथ दिनुका साथै डिजिटल माध्यमबाट पनि जनसम्पर्कको दायरा बढ्नेछ ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
जोखिम र सङ्कटले घेरेको समय छ, धेरै बटुल्ने इच्छा गर्दा मूल धन नै गुमाउने परिस्थिति बन्नेछ, त्यसैले दुराशा र महत्त्वाकाङ्क्षालाई थाती राखी संयमताका साथमा आफ्नो कामलाई निरन्तरता दिनुहोला । यन्त्र वा उपकरणको प्रयोगमा सावधान हुनुपर्छ, विवाद वा लफडामा पनि पछि हट्नुहोला, समस्या परेमा सिनियर कर्मचारीको सहयोग लिनु बेस हुनेछ ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
कामधन्दाबाट हिजोअस्ति झैं नै फल प्राप्त हुनेछ, तर पारिवारिक आवश्यकताले काम छाड्नुपर्ने वा कतै यात्रामा जानुपर्ने परिस्थिति बन्नेछ । आनन्द र मनोरञ्जक गतिविधिमा केन्द्रित भइने छ । कामकाजी महिलाको व्यक्तिगत समुन्नति र प्रतिष्ठाको योग छ । छोराछोरीले मनको कुरो बुझ्नेछन् ।
बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
कमजोरीलाई माध्यम बनाएर शत्रु हाबी हुने समय छ, विश्वासिलो साथी वा सहयोगी कर्मचारीले नै समस्या बल्झाउन सक्छन्, सचेत हुनुपर्छ । आडम्बर देखाउनु हुँदैन, नत्र सामान्य मानेको विषयलाई प्रमाणित गर्न गाह्रो हुन्छ र बेकारको तर्कबितर्कमा दिन बित्ने परिस्थिति बन्नेछ । घरायसी सुखको आकाङ्क्षा बढ्ने समय हो ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
मनको कुरो साथीले बुझिदिंदा आपसी सम्बन्धमा विश्वास र भरोसाको वातावरण बन्नेछ, एकान्तमा रमाउँदै भावना आदानप्रदान हुने समय हो । भोगविलासका सरसामाग्रीको जोहो गर्ने इच्छा जाग्नेछ, त्यस्तै आज मनोरञ्जनात्मक र उच्छृङ्खल क्रियाकलापमा नजानिंदो आकर्षण बढ्ने दिन हो ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
कुनै कुरालाई लिएर दाम्पत्य जीवनमा वैचारिक मतभेद देखा पर्नेछ, जुनसुकै कुरामा धैर्य र सकारात्मक रहनु कल्याणकारी र लाभदायक ठहरिने छ । घरपरिवारमा सँगै बस्नेले बाध्यात्मक काममा अलमलिने परिस्थिति देखिन्छ, यद्यपि उच्च शिक्षाका विद्यार्थी एवं वैदेशिक प्रयोजनको अध्ययन गर्नेले राम्रो परिणाम पाउनेछन् ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
दाम्पत्य जीवनमा नयाँ आयाम थपिने छ, पुराना साथीभाइ र सहयोगीहरूसँग अप्रत्यासित भेटघाट हुनसक्छ । बहुप्रतीक्षित अभिलाषाको पूर्ति हुने समय छ । दार्शनिकता र चिन्तन प्रति झुकाव बढ्नेछ, कुनै समसामयिक विषयका बारेमा साथीहरूसँग छलफल गर्ने र गम्भीर भएर जानकारी बटुल्ने दिन हो ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
मनले चाहेको व्यक्तिबाट कुनै नौलो कुरा सुन्न पाउँदा अझ हर्षित हुने वा कुनै उपहार प्राप्त गरेर दङ्गपर्ने समय हो । चित्रकला, साहित्य, सञ्चारमाध्यम, रङ्गमञ्च, नाटक आदि क्षेत्रमा आकर्षण र लगनशीलता बढ्ने दिन हो । खातापातालाई दुरुस्त बनाइने छ, उठ्ती र सापटीको हिसाबमिलान गर्न सकिन्छ ।