आज वि.सं. २०८१ वैशाख १४ गते शुक्रवार तदनुसार ई. सं. २०२४ अप्रिल २६ तारिख, कालयुक्त नामक संवत्सर, सूर्य उत्तरायण, वसन्त ऋतु, कलिगत ५१२५, शाके १९४६, नेपाल सं. ११४४, किरातवर्ष ५०८३, मञ्जुश्री वर्ष २८६०, हिजरी सं. १४४५, चन्द्रास्त : बिहान ०७:१२ बजे र चन्द्रोदय : बेलुका ०७:५६ बजे, काठमाण्डौ, नेपालमा सूर्योदय : बिहान ०५:३१ बजे र सूर्यास्त : साँझ ०६:३४ बजे, वैशाख कृष्णपक्ष (चौलागा) द्वितीया तिथि, बिहान ०६:५२ बजेसम्म, त्यसपछि तृतीया तिथि, अनुराधा नक्षत्र, मध्यरात्रीपछि ०२:४२ बजेसम्म, त्यसपछि ज्येष्ठा नक्षत्र, चन्द्रमा बृश्चिक राशिमा (अहोरात्र व्याप्त)

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
ससाना कुरामा मन आत्तिने दिन हो, उता समय एवं परिस्थिति अनुकूल भए पनि बाध्यतामा खुम्चनु पर्दा इच्छा पूरा हुन सक्दैन । मनमा अनावश्यक शङ्का र भ्रमको निवास हुने तथा कलहको योग बनेको समय छ, आफैंभित्रका शत्रुलाई चिनेर व्यवहार गर्नु राम्रो हुन्छ । अस्वस्थ हुनुहुन्छ भने समय निकालेर आराम गर्नु ठीक हुन्छ ।
बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
आन्तरिक तिर्सनाको परिपूर्ति हुने दिन हो । पतिपत्नीका बीचमा समझदारी बढ्नेछ । आज कुनै भनुँ भनुँ लागेको कुरा बताउने दिन हो । नयाँ साथी बनाउन पाइने तथा नौलो विषयको जानकारी बटुल्ने दिन हो, मित्रवर्ग र सँगीसाथीको सहयोगमा नजानेको कुनै विषयको ज्ञानसमेत पाउन सकिन्छ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
कामको बोझ बढ्नेछ, तथापि हरेक क्रियाकलापमा हतार गर्नुहुँदैन । जुनसुकै काममा प्रशासनिक समस्या र कानुनी पक्षबारे चिन्तन गर्नु ठीक हुन्छ । आपसी समन्वय र तालमेलका लागि कुनै कुरालाई त्याग्नसमेत सक्नुपर्छ, नत्र बेकारका कुरामा आफ्नो जिद्दीपना प्रस्तुत गर्नाले अन्त्यमा निराशा र खिन्नता बढ्नसक्छ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
सन्तान वा सहयोगी कामदारको सहयोग लिएर व्यवस्थापन पक्षको लथालिङ्गलाई मिलाउन प्रयास गरिने छ, बुद्धिकौशल तथा समझदारीले कमीकमजोरी हटाउन सकिने छ । मन कल्पना र भावनामा अलमलिन सक्छ । हरेक समय आत्मिक आनन्द र मानसिक शान्तिका लागि प्रयास गर्ने समय हो ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
खिसीट्युरी गर्ने वा प्रतिद्वन्द्वीहरूले अथवा राजनैतिक प्रतिपक्षले हानि पुर्याउने योजना बनाउन सक्छन्, त्यस्तै गोपनीयता बाहिरिनाले पनि समस्यामा पर्न सकिन्छ । तर आफ्नो समझदारीले हरेक समस्याको समाधान गर्न सकिनेछ । घरिघरि मन अशान्त भए झैं लाग्नेछ, तर एक्लै बसेर घोरिनुभन्दा तामेलीमा परेका विषयवस्तुमा ध्यानकेन्द्रित गर्नाले केही फाइदा हुनसक्छ ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
सहकर्मी वा मित्रको सहयोगबाट कुनै महत्त्वपूर्ण काम सम्पन्न हुनाले मन प्रसन्न रहने छ । बहुप्रतीक्षित आकाङ्क्षाले पूर्णता पाउने समय हो । कामको चाप बढ्ने समय छ । परिस्थिति हेरी कार्य गर्ने प्रयास गर्नुपर्छ, नत्र आफ्नै कमजोरीले मन दुःखित बन्नसक्छ । पारिवारिक सुखको पूर्ण अनुभूति हुने दिन हो ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
कुरा काट्ने र खिसीट्युरी गर्नेको कमी हुनेछैन, चेलीबेटीको चित्त बुझाउन धौधौ हुनेछ, तर पनि घरपरिवारका सदस्यहरूसँग सुमधुर सम्बन्ध कायम हुनेछ । अभिव्यक्ति, कला र मनोरञ्जनसम्बद्ध विषयमा रुचि जाग्ने समय हो, अझ स्पष्टसँग मानसिक धारणा व्यक्त गरेमा आफ्नो सही पहिचान कायम गर्न सकिने छ ।
बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
एकआपसमा अपेक्षित माया एवं समझदारी कायम रहनेछ, जीवनशैली र उठबसमा परिवर्तन गर्नसके प्रेमजीवनमा समेत यसको सकारात्मक प्रभाव पर्नेछ । गम्भीर स्वभावको उदय हुने समय छ । एक्लै बस्न र रमाउन मनपर्छ । पारिवारिक जीवन सुखद हुनेछैन । आशावादी हुनु निराशावादी हुनुभन्दा राम्रो हुन्छ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
अल्छीलाग्दो समय छ, तर पनि आज अकर्मण्य र लक्ष्यहीन बन्नु हुँदैन, नत्र सामान्य गल्तीले पनि ठूलो नोक्सानी व्यहोर्ने परिस्थिति बन्नेछ । हिसाबकिताब र लेनदेनमा सतर्कता अपनाउनु होला, गल्ला र सेफको सुरक्षामा समेत ध्यान दिनुपर्छ । नयाँ लगानी हो भने सोचेर कदम चाल्नुहोला । तालमेलमा केही कमी रहने दिन हो ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
लक्ष्य प्राप्तिका निमित्त थप परिश्रम गरी लाभ पाउने समय हो । विदेश जाने सपना सँगाल्नु भएको छ भने योजना बनाउँदा शुभ हुनेछ । जुनियर स्टाफ वा सँगीसाथीको क्रियाकलापले तपाईंको चिन्ता बढ्नसक्छ, तथापि आफ्नो क्षमता र प्रतिभाअनुसार अवसर मिल्ने दिन हो।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
मिहिनेतले भविष्य सुध्रनेछ, करियर र व्यवसायप्रतिको चासो बढ्नेछ, उच्च शिक्षाका छात्रछात्राले भावी कार्यक्षेत्रका बारेमा जानकारी बटुल्ने दिन हो । दायित्व र जिम्मेबारी थपिने समय हो, कार्यक्षेत्रमा हाकिम वा गुरुवर्ग तथा घरमा अभिभावकको सान्निध्य पाइने तथा विचार र भावना ग्रहण गर्ने दिन हो, सेवाचाकरीमा पनि केही समय दिनुपर्ने हुन्छ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
परहीत र सामाजिक काममा दौडधूप हुनसक्छ । सेवाभावना र धार्मिक स्वभावको उदय हुनेछ । भोगविलास र सांसारिकताप्रतिको मोह घट्न सक्छ । साझेदारीको कामबाट फाइदा हुनेछ । धार्मिक र आध्यात्मिक चेतना बढ्नेछ, इमानजमानको ख्याल राख्नु तथा नियमकानूनको पालना गर्नु उचित हुनेछ ।