आज वि.सं. २०८१ वैशाख ०७ गते शुक्रवार तदनुसार ई. सं. २०२४ अप्रिल १९ तारिख, कालयुक्त नामक संवत्सर, सूर्य उत्तरायण, वसन्त ऋतु, कलिगत ५१२५, शाके १९४६, नेपाल सं. ११४५, किरातवर्ष ५०८३, मञ्जुश्री वर्ष २८६०, हिजरी सं. १४४५, चन्द्रोदय : दिउँसो ०२:३३ बजे र चन्द्रास्त : मध्यरात्रीपछि ०२:०४ बजे, सूर्योदय : बिहान ०५:३७ बजे र सूर्यास्त : साँझ ०६:३१ बजे, चैत्र शुक्लपक्ष (चौलाथ्व) एकादशी तिथि, बेलुका ०९:१४ बजेसम्म, त्यसपछि द्वादशी तिथि, मघा नक्षत्र, दिउँसो १२:२५ बजेसम्म, त्यसपछि पूर्वाफाल्गुनी नक्षत्र, चन्द्रमा सिंह राशिमा (अहोरात्र व्याप्त)

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
सँगीसाथी र प्रियजनहरू जीवनका महत्त्वपूर्ण पक्ष हुन्, त्यसैले व्यक्तिगत जिम्मेवारी र हार्दिकताका बीचमा सन्तुलन राख्न प्रयास गर्नुपर्ने दिन हो । धेरैजनासँग मिलेर काम गर्ने प्रयास हुनेछ तर समुचित परिणाम प्राप्त गर्न धौधौ हुन्छ । शीघ्रता र हतार गर्दा कुनै काम सफल हुँदैन । पुस्तक, शिक्षाक्षेत्र, छापाखाना, कन्सल्टेन्सी र वस्त्राभूषणको कारोबारबाट लाभ लिने दिन हो।
बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
घरपरिवारमा राम्रो देखिन्छ, विभिन्न कुराको लाभ पाउने समय हो, तर कुरा काट्ने र खिसीट्युरी गर्नेहरूको क्रियाकलाप देखेर खिन्न बन्न सक्नुहुन्छ । घरपरिवारमा सँगै बस्नेले बाध्यात्मक काममा अलमलिने परिस्थिति देखिन्छ, यद्यपि उच्च शिक्षाका विद्यार्थी एवं वैदेशिक प्रयोजनको अध्ययन गर्नेले राम्रो परिणाम पाउनेछन् । कामधन्दालाई पर सारेर केही समय विश्राम लिनु र मुडफ्रेस गर्नु उचित हुन्छ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
आन्तरिक समस्याका कारण वा फाँटको कामविशेषले सहकर्मी वा जुनियर स्टाफसँग विचार÷विमर्श हुने वा कुनै कार्यक्रममा सहभागी भई रामरमाइलो गर्ने दिन हो । इष्टमित्र र नातेदारसँग भेटघाट हुनेछ, पार्टनरले आफूलाई कति ब्याकअप गर्छ भन्ने थाहा पाउँदा एउटा नौलो अनुभूति र रोमाञ्चकता देखापर्ने दिन हो । सञ्चारमाध्यमबाट खुसी हुने समाचार प्राप्त हुनेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
कम्युनिकेसन, विज्ञापन वा मार्केटिङ तपाईंको व्यवसाय बढाउने उत्तम तरिका बन्नसक्छ । मानिसहरूको नकारात्मक प्रतिक्रियालाई बेवास्ता गर्दै आफ्नो कर्ममा ध्यान दिने समय हो । सुखसुविधा बृद्धिका लागि विभिन्न सामाग्रीको किनमेल गरिने र खर्च बढ्ने दिन हो, तर खर्च बढे पनि मानसिकतामा यसको कुनै प्रभाव पर्नेछैन । परीक्षा वा प्रतियोगिताका दृष्टिकोणले अनुकूल दिन छ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
मिहिनेत र लगनशीलता नै तपाईंको पहिचान हो भन्ने बुझी यसलाई जारी राख्नु ठीक हुन्छ । आफ्नो करियरसँग सम्बन्धित विषयहरू खास गरी महत्वाकाङ्क्षी प्रयासहरूमा थप जोड दिने समय हो । लामो समयदेखि सुल्झाउन नसकेको मुद्दालाई किनारा लगाउन सकिने छ, मुल्तवी र तामेलीमा परेका फाइलमा घोत्लिंदा धन र मान दुबै पक्षमा बढोत्तरी हुनेछ ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
कुनै काम गर्दै जाँदा कुनै त्रुटि वा कमजोरी पनि हुनसक्छ, अनाहकमा नगरेको कामको अवगालसमेत खेप्नुपर्ने परिस्थिति देखिन्छ । रोमान्स र प्रेम विश्वासको जगमा मात्र विकसित हुने गर्दछ, आज त्यस्तो व्यक्तिसँग भेट हुनसक्छ, जससँग बाँकी जीवन बिताउन सजिलो हुनेछ । अर्काका सल्लाह, सुझाव र आशयलाई सुन्ने बानीको विकास गर्नु राम्रो हुन्छ ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
पारिवारिक सुखमा अभिबृद्धि हुने तथा छोराछोरीबाट सन्तोष मिल्ने समय छ । ज्ञान वा अनुभवको प्रयोग गरी कुनै महत्त्वपूर्ण विषयमा लाभ लिन सकिने छ । कमीकमजोरी र असफलताहरू पन्छाउँदै क्षमताअनुरूप परिश्रम गर्नुहोस्, लक्ष्यप्रति केन्द्रित भएर लागी परेमा ठूलो सफलता पाउने दिन हो । व्यक्तित्व विकास तथा भौतिक सुखसुविधा जुटाउने सिलसिलामा नयाँ विचार र भावनाको उदय हुनसक्छ।
बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
व्यक्तिगत कार्यक्षेत्रमा बोझ बढ्ने दिन हो, निजी काममा खट्नुपर्दा अधिकांश समय बित्नसक्छ, पार्टनरको चाहनाअनुसार समय निकाल्न सकिंदैन र अनावश्यक तनाव व्यहोर्नुपर्ने समय छ । परिणामप्रति आशावादी भइने छ । कार्यक्षेत्र वा बन्दव्यापारमा राम्रो छ । महत्त्वपूर्ण व्यक्तिका साथमा सम्पर्क बढ्नेछ । थप मिहिनेत गर्न हौसला प्राप्त हुनेछ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
दानपुण्यप्रति आकर्षण बढ्ने तथा जनकल्याण र परोपकारको भावना विकसित हुने राम्रो दिन छ । कुनै पुरानो मन्दिर वा स्मारकको भ्रमण हुनसक्छ । हाँके÷ताकेको लक्ष्यमा पुग्न सफल भइने छ, नयाँ कार्यको थालनी हुने वा सानो प्रयत्नले नै ठूलो सफलता मिल्नसक्ने समय छ । धार्मिक÷सांस्कृतिक काममा खटेर जस पाउने समय छ ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
परीक्षा नजिकै आएको छ भने हरेक कुरा र योजनालाई सार्वजनिक नगर्नु होला, नत्र तपाईंको प्रयास र मिहिनेत खेर जानसक्छ । स्वास्थ्यस्थिति कमजोर हुने दिन हो । खानपानमा पनि अरुचि हुनसक्छ । आफ्ना कुरा छाडी आफन्त र खासगरी जीवनसाथीको भावना बुझिदिनु, कुरा सुन्नु अनि आफू व्यवहारिक बन्नु राम्रो हुनेछ । असहजता बीचमा कामको चाप बढ्ने दिन हो।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
कला, साहित्य र अभिनयका क्षेत्रमा रुचि बढ्ने दिन हो, तथापि अहिले बाह्य विषयवस्तुमा भन्दा पनि निर्धारित पाठ्यक्रममा ध्यानकेन्द्रित गर्नुपर्ने समय हो । पुराना साथीभाइसँग भेटघाटको कार्यक्रम बन्नसक्छ । निजी वा आन्तरिक सम्बन्धलाई उजागर गरी सार्वजनिक तुल्याउने यो सही समय हो । आज घरपरिवारका भावना र इच्छाहरूको ख्याल राख्नु ठीक हुन्छ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
व्यक्तित्व विकासका निमित्त राम्रो अवसर प्राप्त हुनेछ । तोकिएको काम समयमै सम्पादन गर्न सकिने र थप आयआर्जनका लागि मन उत्सुक हुने समय छ । चुनौतीका माझ मोटो रकम हातलागी हुने दिन हो, रातो रङका चिजबीज, लताकपडा, बृक्ष वनस्पति, शैक्षिक प्रतिष्ठान, औषधी र खाद्यान्नका क्षेत्रमा राम्रो देखिन्छ ।