आज वि.सं. २०८० चैत्र ०३ गते शनिवार तदनुसार ई. सं. २०२४ मार्च १६ तारिख, पिङ्गल नामक संवत्सर, सूर्य उत्तरायण, वसन्त ऋतु, कलिगत ५१२४, शाके १९४५, नेपाल सं. ११४४, किरातवर्ष ५०८३, मञ्जुश्री वर्ष २८६०, हिजरी सं. १४४५, चन्द्रोदय : दिउँसो ११:०७ बजे र चन्द्रास्त : बेलुका १०:४९ बजे, सूर्योदय : बिहान ०६:१५ बजे र सूर्यास्त : साँझ ०६:१२ बजे, फाल्गुन शुक्लपक्ष (चिल्लाथ्व) सप्तमी तिथि, मध्यरात्रीपछि ०२:५१ बजेसम्म, त्यसपछि अष्टमी तिथि, रोहिणी नक्षत्र, बेलुका ०९:१२ बजेसम्म, त्यसपछि मृगशिरा नक्षत्र, चन्द्रमा बृष राशिमा (अहोरात्र व्याप्त)

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
जस्तै चुनौती देखिए पनि सफलता तपाईंको मुट्ठीमा रहने समय छ, त्यसैले परीक्षा वा प्रतियोगितालाई ध्यानमा राखी पठनपाठनमा जुट्ने दिन हो । आर्थिक पक्ष सुदृढ रहनुका साथै विभिन्न स्रोतबाट आम्दानीमा बृद्धि राम्रो समय छ । कार्यक्षेत्रमा पनि बोली र कामको कदर हुने वेला हो ।
बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
पार्टनरको इच्छा र भावना बुझ्न सकेमा उत्साह बढ्न गई मन चङ्गा हुने दिन छ, रूप सौन्दर्य र व्यक्तित्वमा निखार आउने छ । तनाव र स्ट्रेसले भरिएको खराब समय छ, केही समय आफ्नो सुस्वास्थ्य र आरामका लागि छुट्याउनु पर्छ, जसबाट मनोबल बढाउन मद्दत पुग्नेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
खर्चमा बृद्धि हुनाले बजेट डगमगाउने समय हो, आर्थिक तनावले पतिपत्नीका बीचमा सुलह नहुने गरी विवाद चुलिन सक्छ, सचेत भएर व्यवहार गर्नुहोला । महत्त्वहीन र बेकारका काममा समय नबिताउनु होला, बरु मन स्थिर छैन भने एकछिन आराम गरेर फेरि पठनपाठनमा जुट्नु ठीक हुनेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
वरिपरि शत्रुको चंगुल हुनसक्छ, तर मिहिनेत र कर्मको सुनिश्चित सफलता प्राप्तिको समय हो, अरुका कुरामा नभुलिनु होला । एकअर्काका भावना बुझेर चल्नुपर्ने दिन हो, सहकर्मी वा सहपाठीका बीचमा प्रेम सम्बन्ध रहेको छ भने आजको दिन विशेष दिन बन्नसक्छ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
कारोबारमा राम्रै प्रतिफल प्राप्त हुनेछ, कुनै नयाँ प्रस्ताव वा योजना छ भने साझेदार र प्रतिस्पर्द्धीसँग अन्तक्र्रिया गरी अनुभव बटुल्नु महत्त्वपूर्ण मानिन्छ । निकै धपेडी गर्ने वेला छ, काम गर्दा अनेकानेक बाधा हुनसक्छन्, तथापि दोहोर्याएर प्रयास गरेमा सबै काम सम्पन्न हुने दिन हो ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
आफन्त वा छरछिमेकको काममा खट्नुपर्ने समय छ, घरव्यवहारकै काममा पनि व्यस्तता रहनेछ, आज बहुप्रतीक्षित अभिलाषा र इच्छाको पूर्ति हुने दिन हो । सपनालाई साकार तुल्याइने छ, लक्ष्य पहिल्याउन सजिलो हुनेछ तर लक्ष्य पूरा गर्न अलि धेरै मिहिनेत गर्नुपर्छ अनि मात्र सफल भइने छ ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
परिवार र साथीहरूप्रतिको तपाईंको भावनाले चिन्ता बढाउन सक्छ, त्यस्तै स्वभावमा चिडचिडेपन र तनाव बढ्नाले आपसी भेटघाटमा नोकझोक र किचलोसमेत हुनसक्छ । आत्मीय मित्र वा प्रेमीप्रेमिकाका बीचमा अविश्वास र भ्रम सिर्जना हुने सङ्केत छ, आफ्नो काम र लक्ष्यप्रति विश्वस्त हुनु ठीक हुन्छ ।
बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
तपाईंलाई गुरुवर्ग र अभिभावकले निकै भरोसा र विश्वास राखेको देखिन्छ, अतः लक्ष्यप्रति सचेत भई टुप्पी कसेर मिहिनेत गर्ने समय छ । सरल व्यवहारको प्रदर्शन गर्दा लाभ हुनेछ, मन उत्सुक र आशावादी बन्ने दिन हो, त्यसैले महत्त्वपूर्ण निर्णय लिनुअघि दोधारमा नरहनु होला, किनकि आजको निर्णयले भाग्यको ढोका उघ्रिने समय छ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
प्रकृतिमा समय बिताउँदा छटपटी र निराशाको अन्त्य हुनेछ, आज हरेक व्यवहारमा आफन्तको इच्छा र चाहनालाई बेवास्ता गर्नु हुँदैन, किनभने परिवार भनेको आधारभूत पक्ष हो, सुखसुविधा भनेको केवल साधनमात्र हो । गल्ती र कमजोरीलाई माध्यम बनाएर प्रतिद्वन्द्वीले होच्याउने र खिसिट्युरी गर्ने परिस्थिति भएकाले काम गर्दा गल्ती हुन्छ कि भनी चनाखो हुनुपर्छ ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
सन्तान वा भाइबहिनीको करियर सम्बन्धी कुनै समस्या आइपरेमा विशेष व्यक्तिबाट उचित सल्लाह र सहयोग मिल्नेछ, जसबाट तपाईको तनाव पनि हट्नसक्छ । सांसारिक सुखप्रतिको झुकाव बढ्नेछ । जुनियर स्टाफको अभावमा कारोवार प्रभावित बन्नसक्छ, तर घरका कनिष्ठ नातेदारको सहयोग लिन सकिने छ । पारिवारिक वातावरण ठीकै छ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
इच्छामुताबिकको कुनै काम वा धार्मिक÷आध्यात्मिक कामका लागि समय व्यवस्थापन गर्नसकेमा तनाव र स्ट्रेसबाट मुक्ति पाउन सक्नुहुन्छ । कारोबारलाई नयाँ गति दिने प्रयत्न हुनेछ । आशाका पछि लाग्नु स्वाभाविक हो, तर पनि आज कसैको आश्वासन वा लोभमा भुलिनु हुँदैन । पारिवारिक खुसीलाई मध्यनजर गर्दै कुनै काम लुकाएर गर्नुपर्ने परिस्थिति बन्नेछ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
दाजुभाइ, दिदीबहिनी वा छरछिमेकीको सहयोग गर्ने हुँदा केही समय बित्नसक्छ । आज व्यक्तिगत पहिचान र प्रतिष्ठा एवं व्यवसायिक स्तरोन्नतिका लागि चालेको हरेक कदमले सफलताको शिखर चुम्नसक्ने दिन हो । कुनै पुरानो समस्या वा कारबाहीमा ध्यान केन्द्रित हुनसक्छ, त्यसैले नबुझेको विषय छ भने सहकर्मीको मद्दत लिएमा समस्या हल गर्न सजिलो हुनेछ ।