• २०८३ असोज १८ गते आइतवार

निर्वाचन आयोगद्वारा रेशम चौधरीलाई वैधानिकता दिन अस्वीकार

खबर24नेपाल पढ्न लाग्ने समय : १ मिनेट

फागुन २४, काठमाडौं । निर्वाचन आयोगले नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रेशम चौधरीलाई वैधानिकता दिन अस्वीकार गरेको छ । आयोगले रेशम पार्टीको सदस्य नै बन्न अयोग्य रहेको भन्दै रञ्जीता श्रेष्ठ चौधर्री अध्यक्ष कायम रहने आज निर्णय गरेको हो ।

टीकापुर घटनामा जन्मकैद सजाय तोकिएर आममाफी पाएका चौधरीले केन्द्रीय समिति अध्यावधिकका लागि गत माघ २९ गते आयोगमा निवेदन दिएका थिए । आयोगले उनलाई सदस्य बन्न योग्य हो कि होइन भनि प्रश्न उठाएको थियो । गएको पुस २७ गते कैलालीको टीकापुरमा भएको पार्टीको पहिलो महाधिवेशनबाट चौधरी अध्यक्षमा निर्वाचित भएका थिए । त्यसअघि, पार्टी अध्यक्ष रेशमपत्नी रञ्जीता श्रेष्ठ थिइन् ।

आयोगले अध्यावधिक गर्न नमिलेको जानकारी दललाई दिने निर्णय गरेको छ । “…विधानको संशोधनको अभिलेख अद्यावधिक गर्न मिलेन । राजनीतिक दलसम्बन्धी नियमावली, २०७४ नियमको २५ को उपनियम (६) बमोजिम नागरिक उन्मुक्ति पार्टी नामक राजनीतिक दलको साविकको विवरण नै कायम रहेकाले ऐ. नियमावलीको नियम २५ को उपनियम (६) बमोजिम सोको जानकारी सम्बन्धित दललाई गराउने,” आयोगको निर्णयमा भनिएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस