फागुन १७, काठमाडौं । केपी ओली कप फुटबल च्याम्पियनसिपको बिहीबार भएकाे खेलमा भारतको मानेभन्ज्याङ्ग एफसीलाई हराउँदै मछिन्द्र फाइनल प्रवेश गरेको छ । दोस्रो सेमिफाइनलको खेलमा मछिन्द्रले मानेभन्ज्याङ्गलाई ५–० गोल अन्तरले हरायो ।

मछिन्द्रले २६ औं मिनेटमा बिमल घर्तिमगरको गोलमा अग्रता लिएको थियो । त्यसको दुई मिनेटमा स्टेफन बियोङले मछिन्द्रको अग्रता दोब्बर बनाए । हिसुब थपलियाले ३६ औं मिनेटमा गोल गर्दै पहिलो हाफमा मछिन्द्रलाई ३–० ले अघि बढाए । दोस्रो हाफमा डिफेन्डर देबेन्द्र तामाङले गोल गरेपछि मछिन्द्र ४–० ले अघि बढ्यो । इन्जुरी समयमा आयुश घलानले गोल गरेपछि मछिन्द्रले ५–० को शानदार जित निकाल्यो ।
मछिन्द्रले उपाधिका लागि शनिबार न्युरोड टिम एनआरटीसँग प्रतिस्पर्धा गर्नेछ । मछिन्द्र प्रतियोगिताको साविक विजेता समेत हो । फाइनल खेल दशरथ रंगशालामा शनिबार हुनेछ । प्रतियोगिताको विजेताले ११ लाख र उपविजेताले ५ लाख रुपैयाँ प्राप्त गर्नेछन् । राष्ट्रिय युवा संघ नेपालले आयोजना गरेको प्रतियोगितामा दुई विदेशी सहित १० टिम सहभागी छन् ।