माघ ६, काठमाडौं । दक्षिण अफ्रिकामा जारी आईसीसी यू-१९ विश्वकप २०२४ मा शुक्रबार पाकिस्तानले विजयी सुरुवात गरेकाे छ । नेपाल रहेको समूह डी को पहिलो खेलमा पाकिस्तानले अफगानिस्तानलाई १८१ रनको फराकिलो अन्तरले हरायो ।

२८५ रनको लक्ष्य पाएको अफगानिस्तान २६.२ ओभरमा १०३ रनमा अल आउट भयो । अफगानिस्तानका नौमान शाह २६, शोहेल खान र रहिमुल्लाह जुरमाती २०-२० रन बनाएर आउट भए । पाकिस्तानका तीव्र गतिका बलर उबेद शाहले ७ ओभरमा १ मेडनसहित २६ रन खर्चेर ४ विकेट लिए । मोहम्मद जिशानले ५ ओभरमा १ मेडनसहित १७ रन खर्चेर ३ विकेट लिए । बफेलो पार्क इस्ट लन्डनमा टस जितेर ब्याटिङ रोजेको पाकिस्तानले ५० ओभरमा ९ विकेट गुमाउँदै २८४ रन बनाएको थियो ।
पाकिस्तानका ओपनर शाहजैब खानले १२६ बलमा १० चौका र ३ छक्कासहित १०६ रन बनाए । कप्तान साद बेग ५२ बलमा ३ चौका र ४ छक्कासहित ५५ तथा रिआज उल्लाह ४९ बलमा ५ चौका र २ छक्कासहित ४६ रनमा आउट भए ।
अफगानिस्तानका खलिल अहमदले १० ओभरमा १ मेडनसहित ५१ रन खर्चेर सर्वाधिक ४ विकेट लिए । बसिर अहमदले २ विकेट लिए ।