माघ ४, काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको बिहीबार भएको खेलमा मधेस प्रदेशले बलियो प्रतिद्वन्द्वी सशस्त्र प्रहरी बलको एपीएफ क्लबमाथि पाँच विकेटको रोमाञ्चक जित हासिल गरेको छ । जारी प्रतियोगितामा चौथो खेल खेलेको मधेस प्रदेशको यो दोस्रो जित हो ।

यसअघि दुई खेलमा मधेस प्रदेश पराजित भएको थियो । हालसम्म तीन खेल खेलेको एपीएफ क्लबको भने यो पहिलो हार हो । कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारी पहिले ब्याटिङको निम्तो पाएको एपीएफ क्लबले निर्धारित ५० ओभरमा नौ विकेट गुमाएर दुई सय ४६ रन बनाएको हाे । ठूलो विजयलक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा ओर्लिएको मधेस प्रदेशले ४८ ओभरमा केवल पाँच विकेट गुमाएर जित हासिल गरेको हाे।
मधेस प्रदेशका लागि तीन ब्याट्सम्यानले अर्धशतक बनाए । चौथो नम्बरका ब्याट्सम्यान पवन सर्राफले टोलीका लागि ६४ रनको योगदान गरे । पाँचौँ नम्बरमा क्रिज समाल्न आएका निरज यादवले पनि टोलीका लागि ५२ रनको महत्त्वपूर्ण योगदान गरेका थिए । यसैगरी छैटौँ नम्बरमा ब्याटिङ गर्न आएका रुपेश सिंहले पनि टोलीका लागि अविजित ७२ रनको योगदान गरे ।
एपीएफ क्लबका बलर रोहित पौडेल र रमेश कुर्मीले दुई–दुई विकेट लिए । मौसम ढकालले पनि एक विकेट हात पारे ।