आज वि.सं. २०८० पौष २२ गते आइतवार तदनुसार ई. सं. २०२४ जनवरी ०७ तारिख, पिङ्गल नामक संवत्सर, सूर्य दक्षिणायन, हेमन्त ऋतु, कलिगत ५१२४, शाके १९४५, नेपाल सं. ११४४, किरातवर्ष ५०८३, मञ्जुश्री वर्ष २८५९, हिजरी सं. १४४५, चन्द्रास्त : दिउँसो ०२:११ बजे र चन्द्रोदय : मध्यरात्रीपछि ०२:२६ बजे, सूर्योदय : बिहान ०६:५८ बजे र सूर्यास्त : साँझ ०५:२२ बजे, विशाखा नक्षत्र, बेलुका ०७:३० बजेसम्म, त्यसपछि अनुराधा नक्षत्र, चन्द्रमा तुला राशिमा, दिउँसो ०१:२१ बजेसम्म, त्यसपछि बृश्चिक राशिमा

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
शरीरमा खिन्नता र अस्वस्थता देखा पर्नेछ, तर पनि अचानक धन प्राप्ति हुने योग बनेको छ, कुनै लटरी वा चिट्ठा नै पनि पर्नसक्छ । सधैंभन्दा बढी व्यस्त हुने समय हो, खटेअनुसार फाइदा हुनेछ, तर आजको केही समय जीवनसाथी वा छोराछोरीका लागि छुट्याउनु ठीक हुन्छ । आनन्द र मनोरञ्जक गतिविधिमा केन्द्रित भइने छ ।
बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
पढाइमा परिश्रम गरे अनुसार प्रतिफल पाइनेछ । सिर्जनात्मक क्रियाकलापमा समेत संलग्न भइने छ, साहसी वा पराक्रमी काममा पनि मन जानसक्छ । आफूलाई अरुभन्दा फरक साबित गर्न प्रयास गर्ने दिन हो, मनोद्वेग र रिसराग बढ्ने समय भएकाले घरव्यवहारमा आफूलाई संयमित ढंगले प्रस्तुत गनुपर्छ, तर्क वा बहसमा विजय प्राप्त हुनेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
प्रियजन र आफन्तलाई सरसहयोग गर्ने समय हो, आज पार्टनरलाई खुसी बनाउन संगीत, नृत्य वा कलाको प्रयोग गर्न अनुकूल समय देखिन्छ । आफ्ना विरोधी र शत्रुहरूप्रति अनुदार र उद्दण्ड बन्ने दिन छ, आवेशमा आएर गैरकानूनी र असामाजिक काममा संलग्न नहुनु होला । सानो प्रयत्नले हैसियतमा बृद्धि हुनेछ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
कुनै कुरालाई लिएर दाम्पत्य जीवनमा वैचारिक मतभेद देखा पर्नेछ, जुनसुकै कुरामा धैर्य र सकारात्मक रहनु कल्याणकारी र लाभदायक ठहरिने छ । रमझममा भुलिंदा पढाइ बिथोलिन सक्छ, तर कुनै पाठमा कमजोरी देखिएमा सहपाठी साथीहरू वा शिक्षकको सहयोग लिनु जाती हुन्छ । आक्रामक व्यवहारका कारण आफन्त वा शुभचिन्तकमा गलत प्रभाव पर्नसक्छ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
आन्तरिक समस्याका कारण वा फाँटको कामविशेषले सहकर्मी वा जुनियर स्टाफसँग विचार÷विमर्श हुने वा कुनै कार्यक्रममा सहभागी भई रामरमाइलो गर्ने दिन हो । नयाँ एवं पुराना मित्रसित भुलिनाले पार्टनरलाई समय प्रदान गर्न सकिंदैन, तर कुनै व्यक्तिगत कार्य सम्पन्न हुने दिन छ । दार्शनिक र धार्मिक प्रकृतिका काममा आकर्षण बढ्ने वा खट्ने दिन छ ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
पार्टनरको इच्छानुसार कतै खानपान वा घुमघाममा जानुपर्ने हुन्छ, खर्च बढ्ने दिन भएकाले बजेटको व्यवस्था गरेरमात्र सम्पर्क गर्नु ठीक हुन्छ । उधारो दिन वा ऋणसापटीमा रकम लगानी गर्नबाट जोगिनुपर्ने समय हो, तर पनि सँगीसाथीसँग समन्वय गरी अघि बढेमा लाभ पाउन सक्नुहुन्छ । अठोट र निर्णयहरूमा सफलता मिल्नेछ ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
अरुले के गर्दैछन् र के सोच्दैछन् भन्ने चिन्ता गर्ने होइन, बरु आफ्नो कहाँ कमजोरी छ पत्ता लगाएर अघि बढ्ने समय हो । निर्णय क्षमतामा निखार आउनुका साथै कार्यक्षेत्रमा सहजता आउने तथा मनमा रचनात्मक क्षमताको विकास हुने राम्रो दिन छ, पहिचान दिलाउन तथा कलात्मक भावनालाई प्रस्फुटन गर्न समय अनुकूल देखिन्छ ।
बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
खानपानप्रतिको आकर्षण बढ्ने दिन हो, चिल्लोचापिल्लो र गुलियो पदार्थमा रुचि जाग्नेछ । फुर्सदमा कुनै ग्रन्थ, वाङ्मय र धार्मिक, पौराणिक विषयवस्तुको अध्ययन गर्न सकिन्छ । कार्यक्षेत्रमा आफैं खटेको जाती हुन्छ, सहयोगीले विश्वासघात गर्ने समय हो, असचेत हुँदा व्यापारमा अचानक मन्दी छाउने सम्भावना देखिन्छ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
जोखिम मोलेर गरेको कामबाट फाइदा हुनेछ, बुद्धि र विवेकको प्रयोग गरी विगतमा गुमाएका विषयवस्तुसमेत पुनः प्राप्त गर्न सकिने छ । जिम्मेबारीको भावना र कर्तव्यपालना देखेर सबैले तपाईंको प्रशंसा गर्नेछन् । आज परदेशमा रहेका आफन्तजन वा बिछोडिएका पुराना सँगीसाथीसँग पुनर्मिलन हुने समय हो ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
कर्तव्यप्रति सचेत हुने तथा जिम्मेबारी बोध हुने राम्रो दिन छ, सरकारी कामका माध्यमबाट लाभ लिन सकिने छ, अझ समाजसेवा वा राजनीति नै कार्यक्षेत्र हो भने मानसम्मान पाउन सक्नुहुन्छ । इच्छाएको फाँट वा कार्यालयको जिम्मेवारी प्राप्त हुने दिन हो, कामप्रतिको अभिरुचिका कारण छोटो समयमा कार्यसम्पादन गरी प्रशंसा बटुल्न सकिने छ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
घरपरिवार, आफन्त र साथीभाइको सहयोग गर्न तत्परता देखाउने समय हो, तर पनि आफू त्यत्ति हलुका बन्नुहुँदैन, जसबाट उनीहरूले तपाईंको कमजोरी र उदार स्वभावको अनावश्यक फाइदा उठाउन सकून् । दैवले साथ दिने समय हो, जस्तोसुकै समस्या आइलागे पनि बुद्धि खियाएर काम गर्नुहोस्, सफल बन्न सक्नुहुन्छ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
नयाँ लगानीका निमित्त उपयोगी दिन छैन, त्यस्तै सामुन्ने देखिएका समस्यालाई चाँडो समाधान गर्नुहोला, नत्र व्यापारिक कारोबारमा दूरगामी प्रभाव पर्नसक्छ । अस्वस्थताका बावजुद काममा जुट्नै पर्ने परिस्थिति छ, सुस्वास्थ्य र आरामका लागि समय छुट्याउनु तथा पौष्टिक आहारामा ध्यान दिनु ठीक हुन्छ ।