आज वि.सं. २०८० पौष १६ गते सोमवार तदनुसार ई. सं. २०२४ जनवरी ०१ तारिख, पिङ्गल नामक संवत्सर, सूर्य दक्षिणायन, हेमन्त ऋतु, कलिगत ५१२४, शाके १९४५, नेपाल सं. ११४४, किरातवर्ष ५०८३, मञ्जुश्री वर्ष २८५९, हिजरी सं. १४४५, चन्द्रास्त : दिउँसो १०:१५ बजे र चन्द्रोदय : बेलुका ०९:२७ बजे, सूर्योदय : बिहान ०६:५६ बजे र सूर्यास्त : साँझ ०५:१८ बजे, पौष कृष्णपक्ष (थिल्लागा) पञ्चमी तिथि, दिउँसो १२:३६ बजेसम्म, त्यसपछि षष्ठी तिथि, मघा नक्षत्र, बिहान ०७:३६ बजेसम्म, त्यसपछि पूर्वाफाल्गुनी नक्षत्र, चन्द्रमा सिंह राशिमा (अहोरात्र व्याप्त)

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
सिर्जनात्मक काम गर्नुपर्छ भन्ने भावना विकसित हुने सुन्दर दिनको आगमन भएको छ । हाँके÷ताकेका काम बन्नुका साथै ज्ञानमूलक क्रियाकलापमा संलग्नता बढ्ने तथा प्रतिस्पर्द्धा वा परीक्षामा सफल भइने समय हो । व्यक्तित्व विकास र उज्ज्वल भविष्यको कामना राखी काम गर्ने समय हो, प्रयास गरेमा इनसर्भिस अध्ययन वा तालिमको अवसर प्राप्त हुनेछ ।
बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
वैचारिक अस्थिरता देखिने छ । प्रसन्नता प्राप्त गर्न धौधौ हुन्छ । वैचारिक र मानसिक सन्तुलन कायम राख्ने कोसिस गर्नुपर्छ । अचल सम्पत्ति, शेयर कारोबार, घरेलु प्रयोजनका वा भोगविलासका सामाग्रीमा फाइदा हुनेछ, आजको केही समय घरपरिवारमा खर्च गरेको जाती हुन्छ । आराम गर्ने फुर्सद पाइँदैन, शरीर अस्वस्थ भए पनि घरायसी बन्दोबस्तीका लागि खट्नैपर्ने परिस्थिति छ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
सहकार्यको भावना विकसित हुनेछ, पुराना साथीभाइसित भेटघाट हुने तथा पढाइ÷लेखाइ र उन्नत भविष्यका बारेमा छलफल हुने समय छ । सामाजिक क्षेत्रको काम वा सार्वजनिक हीतको विषयमा सक्रिय हुने मानसिकता बन्नुका साथै करियर परिवर्तन र उच्च शिक्षा पनि प्राथमिकताको विषय बन्नसक्छ, तर जीवनका विभिन्न आयाममा सन्तुलन राख्न प्रयास गर्नुपर्छ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
मनले चाहेको व्यक्तिबाट कुनै नौलो कुरा सुन्न पाउँदा अझ हर्षित हुने वा कुनै उपहार प्राप्त गरेर दङ्गपर्ने समय हो । रचनात्मक स्वभावले मानिसहरूलाई प्रभावित गर्न सक्नुहुन्छ । असत्य बोल्ने जोसुकैलाई पनि कहिल्यै पनि विश्वास नगर्नुहोला, साथै आफूलाई विश्वास गर्ने व्यक्तिलाई कहिल्यै नढाँट्नुहोला । कम्युनिकेसन, विज्ञापन वा मार्केटिङ तपाईंको व्यवसाय बढाउने उत्तम तरिका बन्नसक्छ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
जीवनसाथी र परिवारका सदस्यहरूको पूर्ण सहयोग रहने दिन छ । तर तपाईंको हठ र जिद गर्ने बानी छ भने समस्या निम्तिनसक्ने समय हो । आफूलाई कमजोर या नजान्ने नठान्नु होला । मिहिनेत नै त्यस्तो साँचो हो, जसले असम्भवलाई पनि सम्भवमा परिणत गर्दछ । मनमा उत्साह र शरीरमा स्फूर्तिको उदय हुनेछ ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
एउटै रुटिन र एउटै वातावरणदेखि दिक्क लाग्ने दिन हो, आज कार्यशैलीमा परिवर्तन गरी नयाँ कुरो सिक्ने इच्छा जाग्नेछ । खर्चको मात्रामा अचानक बृद्धि हुनसक्छ, अझ नजिकैको आफन्त वा मनमिल्ने साथीसँगको साझेदारीमा कुनै कारोबार गर्नुछ भने आज सावधानीपूर्वक कदम चाल्नु आवश्यक देखिन्छ, अन्यथा आर्थिक क्षति हुने दिन हो ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
कामको चापबाट फुर्सद पाइने राम्रै दिन छ, तर सचेत हुनुहोला, गलत काम र दुर्जन व्यक्तिको विश्वासमा पर्दा इज्जतमा दाग लाग्नसक्छ । सरकारी काम, ठेकापट्टा आदिमा अड्किएको काम फुकाउन सकिने समय हो, प्रयास गरेमा अन्य काममा समेत लाभ पाउने समय हो । सबै कार्य सही ढंगले सम्पन्न भए पनि कतिपय काममा आफ्नै चित्त नबुझ्न सक्छ ।
बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
व्यक्तिगत प्रतिष्ठा र वर्चस्व स्थापना गर्न सकिने राम्रो समय छ । राजनीति वा समाजसेवा नै तपाईंको कार्यक्षेत्र हो भने त पदप्रतिष्ठा र सम्मानले तपाईंको प्रतीक्षा गरिरहेको परिस्थिति देखिन्छ । कर्मको प्रतिफल हात पार्ने तथा पदासीन व्यक्तित्वसँग निकटता बढ्ने दिन हो, लगनशील भएमा पुरस्कार र बढुवा पाउन सकिने छ । व्यक्तित्व विकासका लागि प्रयास गर्ने समय हो।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
लामो समयदेखि गर्छुगर्छु भनेर अड्किएका कुनै पनि काम छन् भने जुनियर स्टाफको सहयोग लिएर फेरि ती काम थाल्नुहोस्, पूर्ण हुनेछन् । शरीर हलुका र मन प्रसन्न रहनेछ, लामो समयदेखि एकान्तमा बसेर भलाकुसारी भएको छैन भने अब निराश हुनुपर्दैन, भेटघाटको अनुकूलता मिल्नेछ । दानपुण्यप्रति आकर्षण बढ्ने तथा जनकल्याण र परोपकारको भावना विकसित हुने राम्रो दिन छ ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
छोटो दूरीको व्यवसायिक यात्रामा निस्कन अनुकूल समय छ, अप्ठ्यारो धन उकास्नु छ वा कुनै लगानी उठाउनु छ भने प्रयास गर्नुहोला । मन आनन्दप्राप्तिका लागि आकर्षित बन्ने समय हो, तर काम बाँकी राखी अल्छी गरेमा आफैंलाई लोड बढ्नेछ भनी होस राख्नुपर्छ । नयाँ र नौलो विषयवस्तुको जानकारी लिन सकिने दिन हो।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
प्रविधिको प्रयोग गरेर वा अनलाइन गतिविधिमार्फत अतिरिक्त लाभ हुनसक्छ । ढुवानी र आयातनिर्यातको काममा संयमता अपनाउनु ठीक हुन्छ । आन्तरिक तिर्सनाको परिपूर्ति हुने दिन हो । पतिपत्नीका बीचमा समझदारी बढ्नेछ । आज कुनै भनुँ भनुँ लागेको कुरा बताउने दिन हो । कल्पना र भावुकतामा धेरै समय बित्नसक्छ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
व्यक्तिगत इज्जत र साख राख्न सकिने दिन हो, तर पनि स्वाभिमान र घमण्डका कारण केही समस्याहरू सिर्जना हुनसक्छन् । आडम्बर देखाउनु हुँदैन, नत्र सामान्य मानेको विषयलाई प्रमाणित गर्न गाह्रो हुन्छ र बेकारको तर्कबितर्कमा दिन बित्ने परिस्थिति बन्नेछ । व्यक्तित्व विकासका निमित्त राम्रो अवसर प्राप्त हुनेछ ।