• २०८३ मङ्सिर ७ गते आइतवार

प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेट : बागमती र एपीएफको विजयी सुरुवात

खबर24नेपाल पढ्न लाग्ने समय : २ मिनेट

पौष ५, काठमाडौं । प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेट प्रतियोगितामा बागमती प्रदेश र एपीएफले विजयी सूरुवात गरेका छन् । बिहीबार सुरु भएको प्रतियोगितामा बागमतीले मधेश प्रदेश र एपीएफले सुदूरपश्चिम प्रदेशलाई हराएका हुन् ।

कीर्तिपुरमा भएको खेलमा बागमतीले मधेश प्रदेशलाई २८ रनले हरायो । बागमतीले प्रस्तुत गरेको १ सय १८ रनको लक्ष्य पछ्याएको मधेशले ५ विकेट गुमाएर ८९ रन मात्र बनाउन सक्यो । मधेशकी पुजा महतोले ३५ रन र अनुराधा चौधरीले २१ रन बनाईन् । प्रतिमा साहले नटआउट १५ रन जोडिन् । बागमतीकी अश्मिना कर्मचार्यले २ तथा मनिषा उपाध्यायले १ विकेट हात पारिन् ।

सुरुवाती ब्याटिङ गरेको बागमतीलले निर्धारित ओभरमा ४ विकेट गुमाएर १ सय १७ रन बनाएको थियो । यशोधा विष्टले नटआउट ४७ रन बनाएको इनिङ्समा अश्मिना कर्मचार्यले नटआउट ३० रन बनाएकी थिईन् । मधेशकी पुजा महतोले २ र कबिता गौतमले १ विकेट हात पारिन् ।

मुलपानीमा भएको खेलमा एपीएफले सुदूरपश्चिमलाई ९ विकेटले पराजित गर्यो । सुदूरपश्चिमले प्रस्तुत गरेको ८८ रनको लक्ष्य एपीएफले १ विकेट गुमाएर पुरा गरेको हो । ज्योति पाण्डेको अविजित ४९ रन र इन्दु वर्माको अविजित ३१ रनमा एपीएफले सहजै लक्ष्य पुरा गरेको हा । सिता राना मगरले ४ रन बनाईन् । सुदूरकी इश्वरी विष्टले १ विकेट लिईन् ।

सुरुवातमा ब्याटिङ गरेको सुदूरपश्चिमले ९ विकेट गुमाएर ८७ रन बनाएको थियो । कबिता जोशीले २२ रन र सम्झना खड्काले १२ रन बनाउनु बाहेक अन्य कुनै खेलाडीले दोहोरो अंकको स्कोर छुन सकेनन् । एपीएफकी सोनु खड्काले २ तथा सुमन विष्ट, करुण भण्डारी र इन्दु वर्माले समान एक एक विकेट लिएका थिए ।

बागमती र एपीएफले जित सहित लिग तालिकामा समान २ अंक जोडेका छन् ।

Sharing

प्रतिक्रिया दिनुहोस