• २०८३ मङ्सिर ४ गते बिहिवार

सार्वजनिक स्थानबाट १६ वटा मोटरसाइकल चोरी गर्ने दुईजना पक्राउ

खबर24नेपाल पढ्न लाग्ने समय : २ मिनेट

पौष १, मोरङ । मोरङ प्रहरीले अस्पताललगायत भीडभाड हुने स्थानबाट पटकपटक गरेर १६ वटा मोटरसाइकल चोरी गर्ने दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुनसरीको भोक्राहा नरसिंह–२ का २१ वर्षीय निकाइल अन्सारी र हरिनगरा–६ का ३९ वर्षीय नजाम अन्सारी रहेका छन् ।

उनीहरूलाई प्रहरीले अवैध लागू औषध (खैरो हेरोइन) जस्तो देखिने पदार्थ १ ग्रामसहित पक्राउ गरेको हो । अन्सारीको साथबाट राजकुमार मण्डलको नाममा रहेको को २४ प ३६७५ नम्बरको हिरो सुपर स्प्लेण्डर मोटरसाइकलको ब्लु बुकसमेत प्रहरीले बरामद गरेको छ । उक्त मोटरसाइकल पनि चोरीको भएको प्रहरीले जनाएको छ ।

केही समययता विराटनगर महानगर क्षेत्रबाट लगातार मोटरसाइकल चोरी भइरहेको थियो । मोटरसाइकल चोरीको विषयमा प्रहरीलाई पनि पटकपटक खबर र निवेदन पुगेको थियो । सोही निवेदनका आधारमा प्रहरीले १६ वटा मोटरसाइकल चोर्ने दुई जनाको समूहलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता रञ्जन दाहालका अनुसार नोबेल अस्पताल, विराट टिचिङ अस्पताल, कोशी अस्पताल, सेन्ट्रल मल र पुरानो गुद्रीलगायतका स्थानहरूबाट हराएका १६ वटा मोटरसाइकल चोर्ने समूह पक्राउ गरेको हो ।

‘नोबेल अस्पतालबाट साइन मोटरसाइकल २ वटा, सुपर स्प्लेण्डर मोटरसाइकल २ वटा र अपाची मोटरसाइकल १ वटा, सेन्ट्रल मलबाट साइन मोटरसाइकल १ वटा, सुपर स्प्लेण्डर मोटरसाइकल २ वटा र पल्सर मोटरसाइकल १ वटा, कोशी अस्पतालबाट सुपर स्प्लेण्डर मोटरसाइकल १ वटा, गुद्रीबाट सुपर स्प्लेण्डर मोटरसाइकल १ वटा, मालपोत कार्यालयबाट सुपर स्प्लेण्डर मोटरसाइकल १ वटा, नापी कार्यालयबाट साइन मोटरसाइकल १ वटा र विराट टिचिङ अस्पतालबाट सुपर स्प्लेण्डर मोटरसाइकल १ वटा चोरी भएको पाइयो,’ प्रहरी प्रवक्ता दाहालले भने ।

 उनीहरूलाई मोरङ जिल्ला अदालतबाट पाँच दिन म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस