पौष १, काठमाडौं । नेपालमा प्रहरीमा रिक्त ७ प्रहरी उपरीक्षक (एसपी)मा बढुवाका लागि १२ जनाको रस्साकस्सी चलेको छ । मंसिर ५ गते एसपीबाट प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)मा ५ जना बढुवा भएपछि प्रहरीमा ७ एसपीको दरबन्दी रिक्त भएको छ ।

एसपीहरू वसन्त रजौरे, रविकुमार पौडेल, नविनराज राई, वीरबहादुर ओली र चन्द्रदेव राई एसएसपीमा बढुवा भएका थिए । यसअघि २ जनाको दरबन्दी खालि थियो । अहिले रिक्त दरबन्दीको संख्या ७ पुगे पनि प्राविधिकतर्फको २ वटा दरबन्दी समेत समायोजन गरेर ९ जना बढुवा गर्ने तयारीमा प्रहरी प्रधान कार्यालय छ । प्राविधिक र एमटी (सवारी व्यवस्थापन) शाखामा रिक्त भएको दरबन्दीलाई समेत जनपदतर्फ ल्याएर ९ जना बढुवा गर्ने प्रयास भइरहेको छ ।
प्रहरी प्रधान कार्यालय स्रोतका अनुसार प्राविधिकतर्फको २ दरबन्दी जनपदतर्फ ल्याउन सहमतिका लागि गृह मन्त्रालयमा प्रस्ताव पठाइएको छ । गृहले सहमति दिएलगत्तै बढुवा गर्ने तयारी रहेको प्रहरी प्रधान कार्यालय स्रोतले बतायो ।
अघिल्लो बढुवामा छुटेको टोलीलाई यसपालि समेट्नका लागि दरबन्दी मिलान गर्न लागिएको हो । अघिल्लो वर्ष अर्थात्, २०७९ भदौ १२ गते डीएसपीबाट एसपीमा ३० जनालाई बढुवा गरिएको थियो ।
त्यसमा २०६१ सालमा इन्स्पेक्टरमा भर्ना भएको टोलीबाट केही छुटेका थिए । कारबाही र विभिन्न कारणले अन्य केही डीएसपीहरू समेत छुटे । यसपालि तिनीहरूलाई समेटेर प्रहरी प्रधान कार्यालयले कार्यक्षमताका आधारमा बढुवा गर्ने तयारी गरेको हो ।
‘०६१ को टोली डीएसपीमा बढुवा हुँदा पनि ३ चरणमा बढुवा भएका थिए । त्यसमध्येमा पहिलो चरणमा डीएसपी भएका सबै बढुवा भए, दोस्रो चरणमा बढुवा भएकामध्ये अझै केही बाँकी छन्, उनीहरूलाई समेट्ने गरी बढुवाको तयारी छ,’ प्रहरी प्रधान कार्यालयका एक अधिकृतले भने ।
अहिले ७ वटा दरबन्दी (थप नभएको खण्डमा)का लागि १२ जनाको दौडधुप छ । पहिलो नम्बरमा डीएसपी प्रदीपबहादुर क्षेत्री छन् । त्यसपछि क्रमशः अंगुर जीसी, ढकेन्द्र खतिवडा, यादव ढकाल, श्यामबाबु ओलिया, नारायण रञ्जितकार, निरञ्जन दत्त भट्ट, राजन लिम्बू, सन्तोष तामाङ, एकनारायण कोइराला, अनन्त शर्मा र विनोद घिमिरे दौडमा देखिएका छन् ।
यीमध्येमा दरबन्दी मिलान भएको खण्डमा ९ जना नभएको खण्डमा ७ जना बढुवा हुनेछन् । त्यसमध्ये सिनियारिटीका आधारमा ७ जना बढुवा भएमा निरञ्जन भट्टसम्म बढुवा हुने देखिन्छ । ९ जना बढुवा भएको खण्डमा सन्तोष तामाङसम्म बढुवा हुने देखिएको छ । तर, अहिले सिनियारिटी भन्दा कार्यक्षमतालाई आधार मान्ने तयारी रहेकाले यसमध्ये केही छुट्ने र पछाडिबाट केही आउने सम्भावना पनि रहेको स्रोतले दाबी गर्यो ।
प्रहरी महानिरीक्षक (आईजीपी) भएपछि सिनियारिटीका आधारमा बढुवा गरेर विवादमा नआएका वसन्तबहादुर कुवँर भने यसपालि पनि त्यही मुडमा देखिएका छन् । तर, राजनीतिक दवाव र कार्यक्षमताका आधारमा बढुवा हुनुपर्छ भन्ने प्रहरीभित्रकै आवाजले गर्दा सिनियारिटीका आधारमा बढुवा नहुने देखिन्छ ।
अहिलेसम्मको अवस्था हेर्दा डीएसपी प्रदीपबहादुर क्षेत्री र अंगुर जीसीबाहेक अन्य कोही पनि बढुवा हुनेमा ढुक्क देखिँदैनन् । अघिल्लोपटकको बढुवामा अटाउनुपर्ने प्रहरी अधिकृत भएकाले क्षेत्री र जीसी भने ढुक्क देखिएका हुन् ।
त्यसबाहेक अन्यको कार्यक्षमता र बढुवा समितिले दिएको अंकका आधारमा प्रतिस्पर्धा हुने प्रहरी प्रधान कार्यालय कर्मचारी प्रशासन शाखाका एक अधिकारीले बताए । ‘माथिका दुईजना सबै कुराले अगाडि छन् भने अन्यलाई समितिले दिने अंकले फरक पार्छजस्तो देखिन्छ,’ ती अधिकारीले भने ।
यसपालि बढुवाका लागि अलि बढी दौडधूप सन्तोष तमाङले गरेका छन् । उनले राजनीतिक दलका नेतादेखि एआईजीसम्मबाट बढुवाका लागि आईजीपी कुवँरलाई दबाब दिएका छन् । उनी मात्र होइन, अन्यले पनि आफू निकटका राजनीतिक दलबाट दबाब दिइराखेका छन् ।
चौतर्फी दबाबका कारण बढुवामा सकस देखिएको छ । ‘माथिबाट सिरियल्ली बढुवा हुने भए त केही समस्या थिएन, अहिलेसम्म भइसक्थ्यो तर कार्यक्षमताका आधारमा बढुवा हुनुपर्छ भन्ने आवाज उठेकाले रोकिएको हो,’ एक उच्च प्रहरी अधिकृतले लो