मंसिर २४, काठमाडौं । यू–१९ एसिया कप क्रिकेटमा नेपाल अफगानिस्तासँग पराजित भएको छ । समूह चरणको दोस्रो खेलमा नेपालले अफगानिस्तासँग ७३ रनको हार ब्यहोरेको हो ।

अफगानिस्तानले प्रस्तुत गरेको २ सय ६२ रनको लक्ष्य पछ्याएको नेपाल ४० दशमलव १ ओभरमा १ सय ८८ रनमा अलआउट हुन पुग्यो । ओपनर अर्जुन कुमालले ९१ रनको शानदार इनिङ्स खेलेपनि नेपाललाई जितसम्म पुर्याउन उनीसँग कुनै खेलाडी रहेनन् । अर्जुन अन्तिम विकेटको रुपमा ९१ रनमा आउट भए । उनले १ सय ८ बलमा १३ चौकाको मदतले ९१ रनको स्कोर खडा गरेका थिए ।
यूएईमा नेपालले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङमा उत्रिएको अफगानिस्तानले ४९ दशमलव २ ओभरमा ८ विकेट गुमाएर २ सय ६१ रन बनाएको थियो । जमसेद जदरानको शतकिय इनिङ्समा अफगानिस्तानले सो स्कोर खडा गरेको हो । ३३ रनमा ३ विकेट गुमाएर खराब सुरुवात गरेको अफगानी इनिङ्सलाई जमसेदले सम्हालेका थिए । उनले नटआउट १ सय ६ रनको शतकिय इनिङ्स खेल्दा ८ चौका प्रहार गरेका थिए ।
नेपालका गुलसन झा, सुबास भण्डारी र हेमन्त धामीले समान २ तथा आकाश चन्द र दिपेश कँडेलले समान एक विकेट लिएका थिए ।
लगातार दुई खेलमा पराजित हुँदै नेपाल प्रतियोगिताबाट बाहिरिएको छ । नेपालले समूह चरणको अन्तिम खेलमा भारतसँग खेल्नेछ । नेपाल पहिलो खेलमा पाकिस्तानसँग हारेको थियो ।