आज वि.सं. २०८० मङ्सिर ११ गते सोमवार तदनुसार ई. सं. २०२३ नोभेम्बर २७ तारिख, पिङ्गल नामक संवत्सर, सूर्य दक्षिणायन, हेमन्त ऋतु, कलिगत ५१२४, शाके १९४५, नेपाल सं. ११४४, किरातवर्ष ५०८३, मञ्जुश्री वर्ष २८५९, हिजरी सं. १४४५, चन्द्रोदय : साँझ ०४:५३ बजे र चन्द्रास्त : पूर्णिमा भएकाले रातभरि चन्द्रास्त हुँदैन, सूर्योदय : बिहान ०६:३५ बजे र सूर्यास्त : साँझ ०५:०७ बजे, कार्तिक शुक्लपक्ष (कछलाथ्व) पूर्णिमा तिथि, दिउँसो ०२:२१ बजेसम्म, त्यसपछि प्रतिपदा तिथि, कृतिका नक्षत्र, दिउँसो ०२:०१ बजेसम्म, त्यसपछि रोहिणी नक्षत्र, चन्द्रमा बृष राशिमा (अहोरात्र व्याप्त)
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
मानसम्मान, इज्जत र प्रतिष्ठा बढ्ने दिन हो, तर पनि भौतिक सुख र आनन्दको चिन्ताले सताउन सक्छ । हाँके÷ताकेको उपलब्धि प्राप्त हुने, तर महत्त्वाकाङ्क्षा बढिरहने परिस्थिति रहेको छ । आनन्द र प्रसन्नताका साथमा नै नियमित काम सम्पन्न हुनेछन्, आयको नयाँ स्रोत फेला पर्नुका साथै कमाएको धन सञ्चित गर्न सकिने छ ।
बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
सरकारी वा प्रशासनिक समस्या हल हुनेछन्, व्यक्तिगत प्रतिष्ठा र धनधान्यमा पनि बृद्धि हुनेछ, तर अहङ्कार र आडम्बरबाट जोगिनु बेस हुन्छ । कार्यस्थल र घरपरिवारमा खुसी र उमङ्गको वातारवरण रहेको छ । आर्थिक मन्दी चल्दैछ भने नयाँ रणनीति कार्यान्वयन गर्नुहोस्, सफलता पाउन सक्नुहुन्छ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
अल्छीपना देखिन्छ, शरीर भारी भएकाले कुनै पनि काम पूरा नहुन सक्छन्, मानसिक शान्ति र विश्रामप्रति आकर्षित बन्दा राम्रो हुन्छ । बजेटलाई सन्तुलनमा राख्ने प्रयास गर्नुपर्छ, कुनै योजनामा लगानी गर्ने मनस्थितिमा हुनुहुन्छ भने त्यसका सबल र दुर्बल पक्षमा पनि चिन्तन गर्नुहोला, नसोचिकन काम गरेमा षड्यन्त्रको खाडलमा पनि पर्न सकिन्छ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
आन्तरिक सम्बन्ध सुदृढ हुने तथा एकआपसमा राम्रो समझदारी कायम हुने दिन हो, कुरा काट्ने, खिसीट्युरी गर्ने वा प्रतिस्पर्द्धीहरू आफैं तर्किएर हिँड्नेछन् । लक्ष्य र उद्देश्यको मूल्याङ्कन र परिमार्जन गर्ने समय हो, नयाँ काम सुरु गर्ने हो भने पहिले योजना बनाउनुहोस्, अनिमात्र प्रयास गर्नुहोला ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
कामधन्दामा मज्जाले खट्नुपर्ने हुन्छ, जीवनसाथीले आफ्नो विवशता नबुझिदिंदा झन दिक्क लाग्नसक्छ, तर बृद्धबृद्धाको सद्भाव र सहानुभूति बटुल्न पाइने छ । क्षमता र सीपको सही मूल्याङ्कन हुने समय हो । पेसा, व्यवसाय वा क्यारियरका बारेमा चिन्तन गरी पढाइलाई अघि बढाउनु ठीक हुन्छ ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
प्रशस्त सम्भावना र उपलब्धिहरू भएको राम्रो दिन छ, सानो प्रयासले राम्रो नतिजाका साथै सम्मान र जस पाउन सकिने छ । अप्ठ्यारा परिस्थितिलाई पनि सहज बनाउन सकिने तथा चुनौतीका माझमा प्रतिष्ठा कायम राख्न सकिने सुन्दर दिन छ, कार्यपद्धतिमा सुधार गरी अघि बढेमा भाग्यबल बढ्नुका साथै ठूलाबडालाई खुसी तुल्याउन सकिने छ ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
निरङ्कुश बानी र कडापन तपाईंका कमजोरी बन्न सक्छन् । खानपान र आहारविहारको अनुशासन पालना गरेको जाती हुन्छ । करियर वा कामधाममा कुनै किसिमको बाधा देखिएको छ भने तनाव लिनुको सट्टा कामको गुणस्तर सुधारका लागि प्रयास गर्नु राम्रो हुन्छ ।
बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
पुराना साथीभाइसँग भेटघाटको कार्यक्रम बन्नसक्छ । निजी वा आन्तरिक सम्बन्धलाई उजागर गरी सार्वजनिक तुल्याउने यो सही समय हो । आज घरपरिवारका भावना र इच्छाहरूको ख्याल राख्नु ठीक हुन्छ । कार्यालयमा नौलो कामको जिम्मा लिएर मज्जाले खट्नुपर्ने समय छ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
कार्यक्षेत्रमा तन्मयताका साथमा खट्नुपर्ने दिन हो, अझ सेवाग्राहीसित कुनै विवाद भएमा ठूलो रूप लिनसक्छ, प्रतिद्वन्द्वीहरू मौका कुरेर बसेको देखिन्छ । एकान्तमा बस्न पाउने तथा दुःखसुख सेयर गरी आत्मिक आनन्दमा रमाउने दिन हो, तर कुनैकुनै कुरामा तपाईंको हठ र जिदले नरमाइलो गर्नसक्छ ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
आत्मविश्वासमा बृद्धि हुनाले थप सफलता प्राप्त हुनेछ । शिक्षाक्षेत्र, आर्थिक कारोबार, सुनचाँदी जस्ता गहनागुरियाका व्यापारीका लागि राम्रो दिन देखिन्छ । प्रेमभाव, शान्त वातावरण, खुसी र सद्भाव कायम रहने राम्रो दिन छ । कनिष्ठ नातेदार वा छोराछोरीका तर्फबाट थप प्रसन्नता पाउन सक्नुहुन्छ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
व्यवहारिक कारणले कारोबारमा बाधा हुनसक्छ, तर सागपात, फलफूल, रत्नमाणिक्य, फोटोग्राफी वा भिडियोमिक्सिङ आदिको कारोबारमा मनग्ये लाभ पाउने समय हो । घरपरिवारमा राम्रो देखिन्छ, विभिन्न कुराको लाभ पाउने समय हो, तर कुरा काट्ने र खिसीट्युरी गर्नेहरूको क्रियाकलाप देखेर खिन्न बन्न सक्नुहुन्छ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
नयाँ प्रविधिको प्रयोगले ज्ञान र क्षमतामा बृद्धि हुनेछ, अझ कलात्मक विषयमा रुचि छ भने वरिष्ठ कर्मचारीलाई समेत प्रभावित तुल्याउन सकिने छ । इष्टमित्र र नातेदारसँग भेटघाट हुनेछ, पार्टनरले आफूलाई कति ब्याकअप गर्छ भन्ने थाहा पाउँदा एउटा नौलो अनुभूति र रोमाञ्चकता देखापर्ने दिन हो ।