• २०८३ बैशाख १६ गते बुधवार

मनकामनामाताको दर्शन गरि आजको दिनको सुरुवात गर्नुहोस

खबर२४ नेपाल पढ्न लाग्ने समय : ४ मिनेट

आज वि.सं. २०८० मङ्सिर ०७ गते बिहीवार तदनुसार ई. सं. २०२३ नोभेम्बर २३ तारिख, पिङ्गल नामक संवत्सर, सूर्य दक्षिणायन, हेमन्त ऋतु, कलिगत ५१२४, शाके १९४५, नेपाल सं. ११४४, किरातवर्ष ५०८३, मञ्जुश्री वर्ष २८५९, हिजरी सं. १४४५, चन्द्रोदय : दिउँसो ०१:५१ बजे र चन्द्रास्त : मध्यरात्रीपछि ०२:१२ बजे, सूर्योदय : बिहान ०६:३२ बजे र सूर्यास्त : साँझ ०५:०८ बजे, कार्तिक शुक्लपक्ष (कछलाथ्व) एकादशी तिथि, बेलुका ०८:२६ बजेसम्म, त्यसपछि द्वादशी तिथि, उत्तराभाद्रा नक्षत्र, साँझ ०५:३२ बजेसम्म, त्यसपछि रेवती नक्षत्र, चन्द्रमा मीन राशिमा (अहोरात्र व्याप्त)

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
जुनसुकै काम सम्हाल्दा विशेष सावधानी अपनाउनुपर्ने हुन्छ, अझ आर्थिक पक्ष हो भने सानातिना खर्चको पनि हेक्का राख्नु होला । पठनपाठनमा बाधा र अवरोध हुने नकारात्मक दिन हो, त्यस्तै तपाईंमा दिकदारी र चिडचिडेपन पनि हाबी हुनसक्छ । परिबन्द र बाध्यताका काममा रुमल्लिनु पर्ने हुन्छ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
सेवाग्राही र वरिष्ठ कर्मचारी खुशी हुनेछन् । स्थिर प्रयोजनमा धन लगानी गर्न सक्नुहुन्छ । पुराना सहकर्मीसँगको भेटघाटले मनलाई ताजा बनाउनेछ । लाभमूलक काममा दौडधूप गर्नुपर्दा आपसी समन्वयमा कमजोरी देखा पर्नेछ, तर अनुराग र वाक्पटुताद्वारा परिस्थिति सहज बनाउन सकिने छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
थप मिहिनेत गर्न हौसला प्राप्त हुनेछ, कुनै नयाँ काम थालनी गर्ने हो भने सिनियर्सको सहयोग लिएमा सफल भइने छ । दौडधूप र धपेडी गर्ने समय छ । काममा कसैको साथसहयोग मिल्दैन, तर व्यक्तित्व विकास र प्रतिष्ठा प्राप्तिको प्रयासमा उपलब्धि लिन सकिने छ । परीक्षा, अन्तर्वार्ता वा प्रतियोगिता नजिकै आएको छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
नयाँ जानकारी र समाचारहरू प्राप्त गरी अपडेट हुने समय हो, कार्यस्थलमा विशेष भूमिका निर्वाह गर्ने समय छ, हाँके÷ताकेका काममा भाग्यले साथ दिनुका साथै डिजिटल माध्यमबाट पनि जनसम्पर्कको दायरा बढ्नेछ । आम्दानीको मार्गमा बढोत्तरी हुनाले जीवनमा नयाँ आयाम थपिने दिन हो ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
लेनदेनको कारोबारमा सतर्कता अपनाएको राम्रो हुन्छ । गिन्ती बिग्रिएर घाटा पर्नसक्छ । साथीभाइ र सहयोगीहरूले पनि फरक व्यवहार देखाउने दिन हो । छोटो दूरीको व्यवसायिक यात्रामा निस्कन अनुकूल समय छ, अप्ठ्यारो धन उकास्नु छ वा कुनै लगानी उठाउनु छ भने प्रयास गर्नुहोला ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
प्रविधिको प्रयोग गरेर वा अनलाइन गतिविधिमार्फत अतिरिक्त लाभ हुनसक्छ । ढुवानी र आयातनिर्यातको काममा संयमता अपनाउनु ठीक हुन्छ । मनोरञ्जनात्मक क्रियाकलापमा संलग्न हुने तथा भोजन र परिकारको स्वादमा रमाउने दिन छ, तर पनि जीवनसाथीको इच्छा र रुचिलाई ध्यान दिनु ठीक हुन्छ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
कार्यालयमा सहयोगी साथीहरू र घरमा परिवारका सदस्यहरूले तपाईंका कुरा नबुझिदिंदा दिक्क मान्न सक्नुहुन्छ, तर आज रिस र आवेगमा नियन्त्रण गरेको असल हुन्छ । पार्टनरसँग दूरी बढ्दामात्र उसको महत्त्व कति छ भन्ने आभास हुने दिन हो, स्वास्थ्यगत कमजोरीले पनि रोमान्टिक जीवन प्रभावित बन्नसक्छ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
छोराछोरीको क्रियाकलाप र उन्नति÷प्रगति देखेर दंग पर्ने तथा सुखानुभूति हुने दिन हो । परिवारजनको सहमति जुट्नाले नचिताएको काम सम्पन्न गर्न सकिने छ । पढाइप्रति दिलचस्पी जाग्नेछ, रचनात्मक समय हो, विज्ञानप्रविधिको कुनै क्षेत्रमा वा अनुसन्धान गर्ने छात्रछात्राहरूले केही गर्नसक्ने राम्रो समय छ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
पारिवारिक तनावका कारण पढाइ विचलित हुनसक्ने समय छ । अध्ययनका साथसाथ व्यवहारिक कामको सन्तुलन कायम राख्नुपर्छ । शरीर त स्वस्थ रहने छ, तर चिन्तामा बृद्धि हुने दिन हो । आफन्तको व्यवहार देखेर दिक्क लाग्नसक्छ, तथापि नौला व्यक्तिहरूसँग सम्पर्क बढ्ने र लाभ पाउन सकिने समय छ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
साथीसंगीसित रमाइलो भेटघाट हुनेछ, एकआपसका गुनासा सुन्ने दिन हो, देखिएका चुनौती पन्छाएर पनि परिस्थिति अनुकूल बनाउन सकिने छ । कार्यक्षेत्रमा उत्साहवर्द्धक परिणाम प्राप्त हुनेछ । नवीन रोजगारी वा नयाँ कारोबारप्रति आकर्षण देखिन्छ, नचिताएको काम पूरा हुने दिन हो ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
व्यक्तिगत खुसीका लागि कुनै कुरामा खर्च बढ्ने समय हो, आर्थिक पक्ष कमजोर भएमा पार्टनरको सहायता लिन सकिने छ । नौलो विषयमा चासो देखाउनु तथा नयाँ ठाउँमा धन लगानी गर्नु उचित समय छैन, दैनिकी सञ्चालनमा समेत बाधा झेल्नुपर्ने समय छ । कम्युनिकेसन, विज्ञापन वा मार्केटिङ तपाईंको व्यवसाय बढाउने उत्तम तरिका बन्नसक्छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
प्रयास गर्दा उपलब्धि पाउने दिन हो, उच्चशिक्षाका तथा अनुसन्धान गरिरहेका शिक्षार्थीका लागि राम्रो समय छ, तर स्कूले विद्यार्थीमा उच्छृङ्खलता बढ्न सक्छ । नयाँ उत्साह र उमङ्ग जाग्ने समय हो, खुसी र प्रसन्नताको सीमा हुनेछैन । विजय र सफलताले जताततै पछ्याउन सक्छ तर रिसराग, घमण्ड र अहङ्कारबाट टाढा रहनु ठीक हुन्छ ।

Sharing

प्रतिक्रिया दिनुहोस