कात्तिक ३०, काठमाडौं । आइसिसी विश्वकप २०२३ को दोस्रो सेमिफाइनल खेलमा दक्षिण अफ्रिकाले अस्ट्रेलियालाई दुई सय १३ रनको मध्यम लक्ष्य दिएको छ । इडेन गार्डेन कोलकातामा टस जितेर पहिला ब्याटिङ रोजेको दक्षिण अफ्रिका ४९.४ ओभरमा दुई सय १२ रनमा अलआउट भयो ।
मध्यक्रमका ब्याटर डेविडमिलरको शतकमा दक्षिण अफ्रिकाले सम्मानजनक योगफल तयार गरेको हो । मिलरबाहेक अन्य ब्याटरको प्रदर्शन भने राम्रो हुन सकेन । हेनरिक क्लासेनले ४८ बलमा ४ चौका र २ छक्कासहित ४७ रनमा आउट भए ।
एक समय २४–४ को अवस्थामा पुगेको टोलीलाई मिलर र क्लासेनले पाँचौँ विकेटका लागि ९५ रनको महत्त्वपूर्ण साझेदारी गरेका थिए । मिचेल स्टार्कको पहिलो ओभरको अन्तिम बलमा कप्तान टेम्भा बभुमा शून्यमा विकेटकिपर जोश इंग्लिसबाट क्याच आउट भए । यस विश्वकपमा चार शतक हानेका क्विन्टन डी कक ३ रनमा क्याच आउट भए । स्टार्कको ११औँ ओभरको पाँचौँ बलमा एडेन माक्ररम १० रनमा डेविड वार्नरबाट क्याचआउट भए ।
अष्ट्रेलियाका प्याट कमिन्सले ३ विकेट लिए । ट्रविस हेडले ५ ओभरमा २१ रन खर्चेर २ विकेट लिए । मिचेल स्टार्कले १० ओभरमा ३५ रन खर्चेर ३ विकेट लिए । जोश हेजलवुडले ८ ओभरमा ३ मेडनसहित १२ रन खर्चेर २ विकेट लिए ।
यस खेलको विजेताले उपाधिको लागि आइतबार भारतसँग खेल्नेछ ।
