आज वि.सं. २०८० कार्तिक १५ गते बुधवार तदनुसार ई. सं. २०२३ नोभेम्बर ०१ तारिख, पिङ्गल नामक संवत्सर, सूर्य दक्षिणायन, शरद् ऋतु, कलिगत ५१२४, शाके १९४५, नेपाल सं. ११४३, किरातवर्ष ५०८३, मञ्जुश्री वर्ष २८५९, हिजरी सं. १४४५, चन्द्रास्त : बिहान ०८:४१ बजे र चन्द्रोदय : बेलुका ०८:०२ बजे, सूर्योदय : बिहान ०६:१५ बजे र सूर्यास्त : साँझ ०५:१८ बजे, कार्तिक कृष्णपक्ष (कौलागा) चतुर्थी/चौथी तिथि, मध्यरात्रीपूर्व ११:०३ बजेसम्म, त्यसपछि पञ्चमी तिथि, रोहिणी नक्षत्र, बिहान ०६:२५ बजेसम्म, त्यसपछि मृगशिरा नक्षत्र, चन्द्रमा बृष राशिमा, बेलुका ०६:४८ बजेसम्म, त्यसपछि मिथुन राशिमा
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
बोली र व्यवहारले धेरैलाई आकर्षित तुल्याउने समय हो । दोहोर्याएर काम गर्नु परे पनि नतिजा लाभदायक नै रहनेछ । सकेसम्म समुचित कार्यका लागि कम बोलेको ठीक हुन्छ, तर बोल्न नपाए पनि हाउभाउ र सङ्केतका आधारमा काम निकाल्न सकिने छ ।
बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
परिवारमा सुखसुविधाको जोहो गर्ने समय हो, फुटकर सामाग्रीका विक्रेता र खाद्यसामाग्रीको कारोबार छ भने अझ राम्रो गर्न सकिने छ । दैनिक जीवन सहजताका साथमा बिते पनि कुनै कारणवश पतिपत्नीमा विचार नमिल्न सक्छ, तथापि समर्पण भाव र मायाप्रीति कायम नै रहने देखिन्छ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
हरेक क्रियाकलापमा आर्थिक पक्ष बाधक बन्ने दिन हो । ठूला आशा र महत्त्वाकाङ्क्षा त्यागी अघि बढ्नु होला, गरेका प्रयास र उद्यममा अलिबढी सङ्घर्ष र चुनौती झेल्ने समय छ । पुरानो समस्या सुल्झाउने क्रममा दिन बित्नसक्छ, लाभमूलक काममा कार्यालयबाहिरको काममा पनि खट्न सकिने छ । तर कर्तव्य र जिम्मेबारीप्रति सचेत हुनुपर्छ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
गरिआएको काम वा व्यापारिक गतिविधिमा कुनै पनि प्रकारको परिवर्तन ल्याउने प्रयास नगर्नुहोस्, वर्तमान परिस्थितिमा मात्र ध्यान दिनु बेस हुनेछ । सरकारी कामका माध्यमबाट धनार्जन गर्न सकिने छ, कुनै प्रतिष्ठान वा कार्यालयको बाँकीबक्यौता उठाउनु छ भने प्रयास गर्नुहोला ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
क्यारियर र पेसाप्रतिको सोच सल्बलाउन सक्छ, लगनशीलता र परिश्रमका माध्यमबाट जस्तै समस्या भए पनि गहिराइमा पुग्न सकिने छ । दायित्व र जिम्मेबारी थपिने समय हो, कार्यक्षेत्रमा हाकिम वा गुरुवर्ग तथा घरमा अभिभावकको सान्निध्य पाइने तथा विचार र भावना ग्रहण गर्ने दिन हो, सेवाचाकरीमा पनि केही समय दिनुपर्ने हुन्छ ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
मान्यजन र वरिष्ठ व्यक्तित्वसँग निकटता बढ्नेछ, कर्मप्रति समर्पित भइने छ र प्रतिष्ठामा बृद्धि हुनेछ । दीनदुःखी, रोगी र पाको व्यक्तिलाई सहयोग गर्न पाउँदा एउटा छुट्टै आनन्दको आभास हुनेछ । लामो समयदेखि गर्छुगर्छु भनेर अड्किएका कुनै पनि काम छन् भने जुनियर स्टाफको सहयोग लिएर फेरि ती काम थाल्नुहोस्, पूर्ण हुनेछन् ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
चुनौतीका बीचमा सम्भावनाका बाटाहरू फेला पर्नेछन् । नयाँ काम गर्नु छ भने कानूनी पाटो ख्याल गरी सुरु गर्नु उचित हुनेछ । पारिवारिक वातावरण सामान्य रहने छ, घरायसी प्रबन्ध वा बन्दोबस्तीमा व्यस्त भइने छ । भावना र इच्छाहरूको कदर हुँदैन र मन अशान्त बन्नसक्छ ।
बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
कार्यक्षेत्रमा सफल हुने दिन हो, तर आफ्नो काममा मात्र एकोहोरिनुभन्दा पनि जीवनसाथी वा परिवारका सदस्यहरूको इच्छा बुझेर काम गर्ने दिन हो । मस्ती गर्ने समय हो, पार्टनरको भावनालाई कदर गर्दै आज कतै रेस्टुरेन्ट वा भोजनालयमा गएर समय बिताउनु राम्रो हुन्छ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
भेटघाट र मिलनको समय हो, तथापि मानसिक उलझन र चिडचिडेपन बढ्ने दिन छ, त्यसैले बेकारका कुराकानी र ख्यालठट्टामा कन्ट्रोल गर्नुपर्छ । अन्तरङ्ग मित्र वा आफन्तसँग भेटघाट हुनेछ । सृजनात्मक, कल्पनाशील र रमणीय दिन छ, व्यस्त दिनचर्या अर्थात् बोरिङ रुटिनबाट राहत पाउने समय हो ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
पारिवारिक वातावरण सुखमय रहनुका साथै पतिपत्नीका बीचमा राम्रो समझदारी कायम हुनेछ । छोराछोरीको खुसीका निमित्त केही काम लुकाएर गर्नुपर्ने हुन्छ । परीक्षा, प्रतियोगिता वा अन्तर्वार्ता आदिको तैयारीमा हुनुहुन्छ भने अझ कस्सिएर प्रयास गर्नुहोला, मिहिनेत अनुसार राम्रो रिजल्ट निकाल्न सकिने छ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
कुरा काट्नेहरूको सक्रियता बढ्न सक्छ, दिमाग भारी हुनसक्छ, तथापि बुढाबुढी वा परपाहुनाको सेवा र हेरचाह गर्नुपर्ने दिन हो । घुमघाम वा मनोरञ्जनका लागि केही रकमको खाँचो पर्नसक्छ, घोरिएर बस्नुभन्दा अभिभावकसमक्ष आफ्ना कुरा राखी निकास खोज्नु राम्रो हुन्छ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
एकआपसका सुखदुःख एवं चाहना बुझी कार्य गर्ने प्रयास गर्नुपर्छ, एकअर्काका त्रुटिप्रति सचेत हुने र माफ गरी अघि बढेमा सम्बन्ध मजबुत हुनेछ । इच्छामुताबिकको कुनै काम वा धार्मिक/आध्यात्मिक कामका लागि समय व्यवस्थापन गर्नसकेमा तनाव र स्ट्रेसबाट मुक्ति पाउन सक्नुहुन्छ ।
