कात्तिक १४, काठमाडौं । नेपालले आईसीसी टी-२० विश्वकप एसिया क्षेत्र फाइनल छनोटको दोस्रो खेलमा आज मलेसियासँग खेल्दैछ। खेल दिउँसो सवा १ बजे टीयू क्रिकेट मैदामा हुनेछ। नेपाल लगातार दोस्रो जितको खोजीमा हुनेछ।

आजको खेल जिते नेपाल सेमिफाइनलमा पुग्ने सम्भावनालाई बलियो बनाउने छ। अर्को वर्ष अमेरिका र वेस्ट इन्डिजमा हुने २० ओभरको विश्वकपको अन्तिम छनोटमा नेपालसहित आठ टोली काठमाडौंमा खेलिरहेका छन्। प्रतियोगिताबाट शीर्ष दुई टोली विश्वकपमा छनोट हुनेछन्।
आइतबार हुने फाइनलमा स्थान सुरक्षित गर्न सके नेपालले इतिहासमै दोस्रो पटक ट्वान्टी २० विश्वकपमा छनोट हुनेछ। नेपाल यसअघि २०१४ मा बंगलादेशमा भएको विश्वकपमा छनोट भएर सहभागी भएको थियो।
नेपालको समूहमा सिंगापुर, मलेसिया र ओमान छन्। अर्को समूहमा संयुक्त अरब इमिरेट्स युएई, हङकङ, बहराइन र कुवेत छन्।