आज वि.सं. २०८० भाद्र २२ गते शुक्रवार तदनुसार ई. सं. २०२३ सेप्टेम्बर ०८ तारिख, पिङ्गल नामक संवत्सर, सूर्य दक्षिणायन, वर्षा ऋतु, कलिगत ५१२४, शाके १९४५, नेपाल सं. ११४३, किरातवर्ष ५०८३, मञ्जुश्री वर्ष २८५९, हिजरी सं. १४४५, चन्द्रास्त : दिउँसो १२:४६ बजे र चन्द्रोदय : मध्यरात्रीपछि १२:२६ बजे, सूर्योदय : बिहान ०५:४५ बजे र सूर्यास्त : साँझ ०६:१६ बजे, भाद्रपद कृष्णपक्ष (गुँलागा) नवमी तिथि, बेलुका ०८:२१ बजेसम्म, त्यसपछि दशमी तिथि, मृगशिरा नक्षत्र, दिउँसो ०४:०९ बजेसम्म, त्यसपछि आर्द्रा नक्षत्र, चन्द्रमा मिथुन राशिमा (अहोरात्र व्याप्त)

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
इष्टमित्र र नातेदारसँग भेटघाट हुनेछ, पार्टनरले आफूलाई कति ब्याकअप गर्छ भन्ने थाहा पाउँदा एउटा नौलो अनुभूति र रोमाञ्चकता देखापर्ने दिन हो । नातागोता, बन्धुवान्धव र दाजुभाइसँग सम्पर्क गरी सहयोग आदान प्रदान हुनसक्छ । कुनै ठोस लगानी गर्नुछ भने प्रयास गर्नु राम्रो हुन्छ । खटेअनुसार फाइदा बटुल्ने दिन हो।
बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
जीवनसाथी र परिवारका सदस्यहरूबाट अपेक्षित सहयोग एवं सद्भाव मिल्नेछ, कुनै आर्थिक समस्या छ भने प्रयास गरेमा हल हुने समय हो । परीक्षा, प्रतियोगिता वा प्रतिस्पर्द्धामा विजय प्राप्त गर्ने दिन हो, मिहिनेत गर्न सकेमा पठनपाठनका दृष्टिले पनि आज उत्कृष्ट दिन बन्नसक्छ । सञ्चार वा नेटवर्किङका विभिन्न माध्यमले अल्मल्याउन सक्छन् ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
चिताएका काम सम्पादन हुनेछन्, हाकिम वा जानकार व्यक्तिको सहयोग र सहानुभूति प्राप्त हुनेछ । सेवाग्राहीलाई प्रभावित पारेर सम्मान पाउने समय हो । पार्टनरबाट कुनै कुराको अपेक्षा गरेको जाती हुन्छ, कुनै व्यक्तिगत समस्या छ भने पनि बताएमा सही निकास पाउन सक्नुहुन्छ । सानातिना रोगव्याधिको भय र हलुका दुर्घटना हुने सम्भावना छ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
कार्यक्षेत्रमा आफैं खटेको जाती हुन्छ, सहयोगीले विश्वासघात गर्ने समय हो, असचेत हुँदा व्यापारमा अचानक मन्दी छाउने सम्भावना देखिन्छ । खर्चमा बृद्धि हुनाले बजेट डगमगाउने समय हो, आर्थिक तनावले पतिपत्नीका बीचमा सुलह नहुने गरी विवाद चुलिन सक्छ, सचेत भएर व्यवहार गर्नुहोला । अल्छीपना देखिन्छ, शरीर भारी भएकाले कुनै पनि काम पूरा नहुन सक्छन्।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
ज्ञान र अनुभूतिमा बृद्धि हुनेछ । अड्डा–अदालतमा अड्किएको कुनै काम गर्न अनुकूल समय छ, त्यस्तै कुनै बाँकीबक्यौता रकमको कारोबार मिलाउनु छ भने पनि आजको प्रयास फलदायी हुनेछ । कुनै पुरानो समस्यामा घोत्लिनुपर्ने तथा असमझदारी बढ्नाले कार्यक्षेत्र प्रभावित बन्नसक्ने दिन छ । तर पनि सहकर्मी र सिनियर्सको सहयोग पाउने दिन हो ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
बहुप्रतीक्षित महत्त्वाकाङ्क्षा सिद्ध हुने दिन हो, दिमागलाई सही फ्रेममा राख्नुहोस्, सबै विवाद र समस्याहरूलाई सकारात्मक ढंगले समाधान गर्न सकिने छ । व्यक्तिगत कार्यक्षेत्रमा बोझ बढ्ने दिन हो, निजी काममा खट्नुपर्दा अधिकांश समय बित्नसक्छ, पार्टनरको चाहनाअनुसार समय निकाल्न सकिंदैन र अनावश्यक तनाव व्यहोर्नुपर्ने समय छ ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
आफन्त वा छरछिमेकको काममा खट्नुपर्ने समय छ, घरव्यवहारकै काममा पनि व्यस्तता रहनेछ, आज बहुप्रतीक्षित अभिलाषा र इच्छाको पूर्ति हुने दिन हो । प्रशस्त सम्भावना र उपलब्धिहरू भएको राम्रो दिन छ, सानो प्रयासले राम्रो नतिजाका साथै सम्मान र जस पाउन सकिने छ । शान्त र स्थिर मतिको उदय हुनेछ, परोपकारी समय हो, प्रेम र भाइचारालाई समेत जीवन्त तुल्याउन सकिने छ ।
बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
मनमा कुनै नवीन कार्य गर्ने भावना जागृत हुनेछ, तर आज त्यस्तो दिन हो, जसमा मनको कुरो मनैमा रहन सक्छ । आफ्नै वा आत्मीय जनको स्वास्थ्यस्थिति कमजोर बन्नाले तनाव उत्पन्न हुनसक्ने समय छ । धेरै टाढाको यात्रामा ननिस्कनु राम्रो हुन्छ । नयाँ लगानीका निमित्त उपयोगी दिन छैन, त्यस्तै सामुन्ने देखिएका समस्यालाई चाँडो समाधान गर्नुहोला ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
सहकर्मी साथी वा सहयोगीसित झैझगडा हुने दिन हो, बल प्रदर्शन गर्नु हुँदैन, नत्र सानोतिनो चोटपटक नै लाग्नसक्ने परिस्थिति छ । सधैंभन्दा बढी व्यस्त हुने समय हो, खटेअनुसार फाइदा हुनेछ, तर आजको केही समय जीवनसाथी वा छोराछोरीका लागि छुट्याउनु ठीक हुन्छ । गृहस्थी जीवन र पारिवारिक सुखको आत्मिक अनुभूति प्राप्त हुनेछ ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
निराशा र कुण्ठा बढ्ने समय हो, नबुझेको कुनै कुरा छ भने एकान्तमा बसेर दोहोर्याएर प्रयत्न गर्नुपर्छ, नयाँ बाटो पहिल्याउन सकिन्छ । घमण्ड र अहङ्कारको उदय हुने समय भएकाले आज आत्मसंयमी र गम्भीर बन्ने प्रयास गर्नुहोला, सोचेजस्तै लाभ प्राप्त गर्न केही समय कुर्नुपर्ने हुन्छ, तर बहस, वादविवाद र तर्कवितर्कमा जीत हुनेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
सीपमूलक शिक्षा र प्राविधिक विषयमा आफ्नो क्षमता प्रदर्शन गर्ने दिन हो, परिश्रमी र लगनशील भएमा मात्र भाग्यले समेत साथ दिनेछ । बौद्धिक क्षेत्र, चिन्तनमनन र दार्शनिक विषयमा सक्रियता देखाउने समय हो, आफू स्वयंले वा छोराछोरीका माध्यमबाट कुनै फाइदामूलक काम बन्नसक्छ, तर मन भावुकता र आनन्दप्राप्तिका लागिसमेत आकर्षित बन्नसक्छ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
घरिघरि मानसिक उल्झन र तनावबाट ग्रसित रहनु पर्नेछ । सुखसुविधा, भोगविलास र सँगीसाथीहरूसँग भुलिनाले गर्नैपर्ने कुनै काममा अवरोध हुनसक्छ । हाँके÷ताकेको कुनै काम रोक्नुपर्ने हुन्छ । नयाँ लगानीका लागि उपयुक्त समय होइन, बरु वातावरण र परिस्थितिमा केन्द्रित हुनुपर्ने समय हो ।