भदौ ७, विराटनगर । संखुवासभा सदरमुकाम खाँदबारीस्थित जिल्ला कारागारभित्र भएको दुईजना कैदीको हत्या प्रकरणमा प्रहरीसहित १२ जनाविरुद्ध कर्तव्य ज्यानमा मुद्दा दर्ता गरिएको छ ।

कैदीको हत्या प्रकरणमा संलग्न भएको पाइएका प्रहरी सहायक निरीक्षकसहित ५ प्रहरी तथा चौकीदारसहित ७ जना कैदीविरुद्ध कर्तव्य ज्यानसम्बन्धी मुद्दा दर्ता गरिएको विराटनगरस्थित कोशी प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
उनीहरुविरुद्ध मुद्दा दर्ता गरी अनुसन्धानलाई थप अघि बढाइएको संखुवासभाका प्रहरी नायब उपरीक्षक वीरेन्द्र गोदारले जानकारी दिए ।
कारागारमा रहेको सीसीटीभी फुटेज अध्ययन तथा प्रत्यक्षदर्शीहरुको बयानका आधारमा घटनामा प्रहरी र केही कैदीको संलग्नता देखिएको जनाइएको छ ।प्रारम्भिक अनुसन्धानपछि प्रहरीले ज्यान मार्ने मुद्दा दर्ता गरी थप अनुसन्धान सुरु गरेको जनाएको छ ।दुई साताअघि भएको कुटपीटबाट कारागारमा रहेका संखुवासभाका विनोद तोलांगी र नुवाकोट, ककनीका आकाश बलामीको मृत्यु भएको थियो ।