• २०८३ जेष्ठ ५ गते मङ्गलवार

आज साउनको अन्तिम सोमबार, भगवान शिवको दर्शन गरि आजको दिनको सुरुवात गर्नुहोस

खबर२४ नेपाल पढ्न लाग्ने समय : ४ मिनेट

आज वि.सं. २०८० श्रावण २९ गते सोमवार तदनुसार ई. सं. २०२३ अगस्ट १४ तारिख, पिङ्गल नामक संवत्सर, सूर्य दक्षिणायन, वर्षा ऋतु, कलिगत ५१२४, शाके १९४५, नेपाल सं. ११४३, किरातवर्ष ५०८३, मञ्जुश्री वर्ष २८५९, हिजरी सं. १४४४, नेपालमा सूर्योदय : बिहान ०५:३३ बजे र सूर्यास्त : साँझ ०६:४२ बजे, चन्द्रास्त : साँझ ०४:४७ बजे र चन्द्रोदय : भोलि बिहान ०३:३९ बजे, श्रावण कृष्णपक्ष (अनलागा) त्रयोदशी तिथि, बिहान १०:१९ बजेसम्म, त्यसपछि चतुर्दशी तिथि, पुनर्वसु नक्षत्र, दिउँसो १२:११ बजेसम्म, त्यसपछि पुष्य (तिष्य) नक्षत्र, चन्द्रमा मिथुन राशिमा, बिहान ०५:३६ बजेसम्म, त्यसपछि कर्कट राशिमा


मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
आवेगहरूमा नियन्त्रण गर्न नसक्नाले निराशा र खिन्नताको अनुभूति हुनसक्छ, अतः आफ्ना लागि समय प्रदान गर्नु र चिन्तन गरी वर्तमान समस्याको हल गर्ने प्रयास गर्नु उपयोगी हुनेछ । घरिघरि मन अशान्त भए झैं लाग्नेछ, तर एक्लै बसेर घोरिनुभन्दा तामेलीमा परेका विषयवस्तुमा ध्यानकेन्द्रित गर्नाले केही फाइदा हुनसक्छ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
पारिवारिक उत्थानका निम्ति कुनै महत्त्वपूणर् कार्य प्रारम्भ गर्ने मनसाय बन्नेछ, आर्थिक लगानीको समय छ, सञ्चारमाध्यमबाट शुभ सन्देश आउनेछ । साझेदार र सहकर्मीको सुझाव लाभदायी ठहरिने छ । कामधन्दा छोडेर सामाजिक क्रियाकलापमा सक्रिय भइने छ, तथापि चुस्तदुरुस्त व्यवस्थापनका कारण बेफाइदा हुनेछैन । व्यक्तिगत कार्यमा सफलता मिल्नेछ तर पारिवारिक दायित्व र जिम्मेबारी बढिरहने समय हो ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
जस्तै चुनौती देखिए पनि सफलता तपाईंको मुट्ठीमा रहने समय छ, त्यसैले परीक्षा वा प्रतियोगितालाई ध्यानमा राखी पठनपाठनमा जुट्ने दिन हो । सञ्चार वा नेटवर्किङका विभिन्न माध्यमले अल्मल्याउन सक्छन् । पराईसँग व्यवहार गर्दा शब्दहरूको चयन र प्रस्तुतिमा ध्यान दिनुहोला । धनको सहजता देखिए पनि खर्च गर्नुपर्दा होस राखेर चल्नुपर्ने समय छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
एकआपसमा अपेक्षित माया एवं समझदारी कायम रहनेछ, जीवनशैली र उठबसमा परिवर्तन गर्नसके प्रेमजीवनमा समेत यसको सकारात्मक प्रभाव पर्नेछ । इच्छा पूरा हुने दिन हो, विशिष्ट व्यक्तित्व वा विद्वान् गुरुसित मित्रता र भेटघाट हुने समय हो । घरमा अभिभावकसित सम्पर्क गरी भलाकुसारी गरेको जाती हुन्छ । कार्यस्थल र घरपरिवारमा खुसी र उमङ्गको वातारवरण रहेको छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
जुनसुकै काम सम्हाल्दा विशेष सावधानी अपनाउनुपर्ने हुन्छ, अझ आर्थिक पक्ष हो भने सानातिना खर्चको पनि हेक्का राख्नु होला । महत्त्वहीन र बेकारका काममा समय नबिताउनु होला, बरु मन स्थिर छैन भने एकछिन आराम गरेर फेरि पठनपाठनमा जुट्नु ठीक हुनेछ । धनको मामिलामा उदासीन बन्नुहुँदैन, त्यस्तै कुनै पनि ठूला निणर्यहरू लिनुहुँदैन ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
महत्त्वाकाङ्क्षा जाग्नेछ, कुनै दीर्घ प्रयोजनका योजना छन् वा विदेशमा पढ्ने सपना छ भने अझ धेरै मिहिनेत गर्नु जायज हुन्छ । ज्ञान र अनुभूतिमा बृद्धि हुनेछ । अड्डा-अदालतमा अड्किएको कुनै काम गर्न अनुकूल समय छ, त्यस्तै कुनै बाँकीबक्यौता रकमको कारोबार मिलाउनु छ भने पनि आजको प्रयास फलदायी हुनेछ । सिनियर्सलाई रिझाउन नसके पनि सहकर्मी साथीहरूको सहयोगले कुनै महत्त्वपूणर् काम सम्पादन हुनेछ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
नयाँ व्यवसाय वा रोजगारीको खोजी गरेमा प्रयास सफल हुने समय हो, तर शत्रु र प्रतिस्पर्द्धीको गतिविधिप्रति सचेत हुनु ठीक हुन्छ । लेखन/प्रकाशनको काम, परामर्श सेवा, लेखा सेवा, कन्सल्टेन्सी, वकालत, शेयर मार्केट, कम्प्यूटरसम्बद्ध काम वा वाणीप्रधान कामबाट फाइदा लिने दिन हो । दौडधूप र धपेडी गर्ने समय छ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
शान्त र स्थिर मतिको उदय हुनेछ, परोपकारी समय हो, प्रेम र भाइचारालाई समेत जीवन्त तुल्याउन सकिने छ । ठूलाबडाको सहयोग लिन सके नबन्ने काम पनि बन्नसक्छ । अचानक खुसी हुने कुनै समाचार सुन्न पाइने छ । कामविशेषले देश/परदेशको यात्रा हुने वा घर छाड्नुपर्ने परिस्थिति पनि बन्नसक्छ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
पुराना समस्या बल्झिनाले वा कुनै गोप्य दस्ताबेज बाहिरिनाले तनाव बढ्नसक्ने दिन छ, त्यसैले सचेत र संयम भएर काम गर्नु ठीक हुन्छ । ससाना कुरामा मन आत्तिने दिन हो, उता समय एवं परिस्थिति अनुकूल भए पनि बाध्यतामा खुम्चनु पर्दा इच्छा पूरा हुन सक्दैन ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
भौतिक उपकरण वा सुखसुविधाको वस्तु खरिद गर्ने समय हो, नयाँ लगानी गर्नु छ भने जीवनसाथीको नाममा सुरु गर्नुहोस्, फाइदा हुनेछ । मनोरञ्जनात्मक क्रियाकलापमा संलग्न हुने तथा भोजन र परिकारको स्वादमा रमाउने दिन छ, तर पनि जीवनसाथीको इच्छा र रुचिलाई ध्यान दिनु ठीक हुन्छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
स्वास्थ्यक्षेत्र, काठपात, ढुंगागिट्टी, मिलमेसिनरी र ढुवानीसम्बद्ध कारोबारीले आयस्रोत बढाउन सक्नुहुन्छ, तर कार्यक्षेत्रमा विभिन्न चुनौती र सङ्घर्ष झेल्दै काम गर्नुपर्ने हुन्छ । झैझगडा वा विवादबाट टाढा बसेको जाति हुन्छ, अर्काको काम वा विषयवस्तुमा ध्यान दिएमा अवगाल वा अपजस खेप्नुपर्ने समय छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
बुद्धिको सही प्रयोग गर्नसके आफ्नो साख र इज्जत जोगाउन सकिने छ, प्रतिस्पर्द्धीहरू स्वयं कमजोर हुनाले आफैँलाई फाइदा हुने समय छ । सँगीसाथीसँग रमाउन पाउँदा दिन बितेको पत्तो पाउनुहुन्न । आज व्यक्तिगत खुसीका लागि लवमेटसित कुनै कुराको अपेक्षा गरेको जाती हुन्छ ।

Sharing

प्रतिक्रिया दिनुहोस