असार २५, काठमाडौं । राष्ट्रिय युवा संघ नेपालले राष्ट्रपति रामचन्द्र पौडेलको उपचार खर्च सरकारले दिने निर्णयप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतलाई ज्ञापनपत्र बुझाउँदै राष्ट्रिय युवा संघले उच्च पदस्थ व्यक्तिहरूको उपचार स्वदेशमै गर्न किन नसकिएको भन्दै प्रश्न पनि गरेको छ । 
पूर्वाधारले सक्षम नेपालका ठूला अस्पतालहरूमा उच्च पदस्थ व्यक्तिहरूले उपचार गर्न हिच्किचाउने अवस्था कसरी सिर्जना भयो भन्दै स्वास्थ्यमन्त्री बस्नेतलाई प्रश्न गरिएको छ । राष्ट्रिय युवा संघले भीभीआइपी र भीआइपी बिरामीहरूको नेपालमै सम्भव हुने उपचार विदेशमा गराएबापत राज्यले खर्च गर्ने परम्परा अन्त्य गर्न माग गरेको छ ।
यस्तै हरेक स्थानीय तहको स्वास्थ्य चौकीमा एकजना एमबीबीएस डाक्टर दरबन्दीको व्यवस्था अनिवार्य कार्यान्वयन गर्न पनि माग गरिएको छ । एक स्थानीय तह एक अस्पताल निर्माणको काममा ढिलासुस्ती भएकाले तत्काल निर्माणको काम सुचारु गर्ने व्यवस्था गर्न पनि माग गरिएको छ ।

