जेठ २८, काठमाडौं । आम हड्तालका कारण सुदूरपश्चिम प्रदेशको जनजीवन प्रभावित भएको छ । गेटा अस्पताललाई शहीद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउने निर्णय कार्यान्वयनको माग गर्दै आह्वान गरिएको आम हडतालले प्रदेशका ९ वटै जिल्लामा लामो तथा छोटो दूरीका सवारी साधन चलेका छैनन भने बजार पनि बन्द छ । बन्दकर्ताहरु विहानैदेखि सडकमा निस्किएर सडक अवरुद्ध गराइरहेका छन् ।

विश्वविद्यालय स्थापनाका लागि गठित संघर्ष समितिले पूर्व घोषित कार्यक्रम अनुसार आम हडतालको गरेको हो ।गत माघ २९ मा बसेको मन्त्रिपरिषद्को बैठकले गेटामा शहीद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउने निर्णय गरेको थियो ।
सुदूरपश्चिम भ्रमणमा गएका प्रधानमन्त्री प्रचण्डले पनि गेटालाई विश्वविद्यालय बनाउने घोषणा गरेका थिए । तर, गत जेठ १५ मा सरकारले ल्याएको बजेटमा विश्वविद्यालयको ठाउँमा प्रतिष्ठानका रुपमा अघि बढाउने र १ सय शैय्याको अस्पताल सञ्चालन गर्ने घोषणा गरेपछि सुदूरपश्चिमका नागरिकले विरोध गरेका हुन् ।