आज वि.सं. २०८० ज्येष्ठ २० गते शनिवार तदनुसार ई. सं. २०२३ जुन ०३ तारिख, पिङ्गल नामक संवत्सर, सूर्य उत्तरायण, गृष्म ऋतु, कलिगत ५१२४, शाके १९४५, नेपाल सं. ११४३, किरातवर्ष ५०८३, मञ्जुश्री वर्ष २८५९, हिजरी सं. १४४४, नेपालमा सूर्योदय : बिहान ०५:११ बजे र सूर्यास्त : साँझ ०६:५४ बजे, चन्द्रोदय : साँझ ०५:४६ बजे र चन्द्रास्त : भोलि बिहान ०४:१८ बजे, ज्येष्ठ शुक्लपक्ष (तछलाथ्व) चतुर्दशी तिथि, दिउँसो १०:३० बजेसम्म, त्यसपछि पुर्णिमा तिथि, विशाखा नक्षत्र, बिहान ०५:५१ बजेसम्म, त्यसपछि अनुराधा नक्षत्र, चन्द्रमा बृश्चिक राशिमा (अहोरात्र व्याप्त)

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
हरेक क्रियाकलापमा सफल भइने छ, तर मुड घरिघरि अशान्त बन्नसक्छ । याद गर्नुहोला, अनुशासन र संयमता आजको सफलताको सूत्र हो । दिकदारी र चिडचिडेपन बढ्ने समय हो । शरीरमा थकान र अस्वस्थता देखिए पनि कामबाट फुत्कने र आराम गर्ने अनुकूलता मिल्दैन, तर मनले नमानेको कामकुराबाट टाढा नै रहेको जाती हुन्छ ।
बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
घुमघाममा निस्कने वा एकान्तमा बसेर रमाउन पाइने सुन्दर दिन छ, लवमेटको खोजीमा हुनुहुन्छ भने नयाँ प्रस्ताव आउने छ । मूलतः मनोरञ्जन र मस्तीमा केन्द्रित भइने छ । कार्यक्षेत्रमा पनि राम्रै लगनशीलता देखिने छ । सबैको प्रशंसा बटुलेर मन फुरुङ्ग हुने दिन हो । भौतिक उपकरण वा सुखसुविधाको वस्तु खरिद गर्ने समय हो ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
घमण्ड र क्रोधमा बृद्धि हुनसक्छ, तर पनि व्यक्तिगत कार्य र पारिवारिक जिम्मेबारीका बीच तालमेल मिलाउन सकेमा विवाद एवं अपजसबाट बच्न सकिन्छ । ओभर कन्फिडेन्समा नरहनु होला, परीक्षा वा प्रतिस्पर्द्धा नजिकै आएको छ भने खेलवाड र मनोरञ्जनलाई पूणर्तया त्यागेर थप मिहिनेत गर्नु समुचित हुनेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
तालिम वा ज्ञान बढाउने विषयमा सरिक हुने र लाभ पाउने समय हो, जुनियर स्टाफ वा छोराछोरीका माध्यमबाट पनि लाभ हुनेछ । सँगीसाथीसँग रमाउन पाउँदा दिन बितेको पत्तो पाउनुहुन्न । आज व्यक्तिगत खुसीका लागि लवमेटसित कुनै कुराको अपेक्षा गरेको जाती हुन्छ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
व्यवहारिक कारणले कारोबारमा बाधा हुनसक्छ, तर सागपात, फलफूल, रत्नमाणिक्य, फोटोग्राफी वा भिडियोमिक्सिङ आदिको कारोबारमा मनग्ये लाभ पाउने समय हो । आराम गर्ने फुर्सद पाइँदैन, शरीर अस्वस्थ भए पनि घरायसी बन्दोबस्तीका लागि खट्नैपर्ने परिस्थिति छ, तर घरपरिवारका सदस्यको सहयोग जुटाउन सकिने छ ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
माइतीपक्ष वा दिदीबहिनीका बारेमा कुनै शुभ समाचार प्राप्त हुनेछ । धार्मिक प्रयोजनको काम वा सामाजिक क्रियाकलापमा पनि दौडधूप गर्नुपर्ने दिन हो । नजानेको वा नसुल्झिएको विषयवस्तुमा सहपाठीको सहयोग लिनुहोला, किनकि जब तपाईंको उद्देश्य सुदृढ हुन्छ, कडा परिश्रम विकल्प होइन आवश्यकता बन्ने गर्दछ ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
आन्तरिक सम्बन्धका लागि राम्रै दिन छ, तर भेट भएको मौकामा सामान्य कुरामा पनि तर्क वा बहस नगर्नु होला । रुचिको क्षेत्रमा गरेको प्रयासमा सफलता मिल्ने दिन हो, थप धनार्जन गर्ने विषयमा चिन्ता गर्न सक्नुहुन्छ, साझेदारीमा आधारित व्यापारबाट राम्रो लाभ हुनेछ ।
बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
लगनशील भई परिश्रम गरेमा उत्कृष्ट परिणाम प्राप्त हुनेछ, आजको सानो प्रयासमा भाग्यको समेत साथ पाउनाले राम्रो रिजल्ट आउने छ । महत्त्वाकाङ्क्षा र अदम्य उत्साह जाग्ने दिन हो । अल्छीपन बढ्न सक्छ, तर याद गर्नुहोला, कल्पना गरेरमात्र केही पनि हुँदैन, प्रतिफल प्राप्त गर्न मज्जाले खट्नुपर्ने हुन्छ । विपरीत परिस्थिति भए पनि कामलाई कुशलतापूर्वक झेल्नसक्ने सामर्थ्यको विकास गर्न सकिने छ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
धनको मामिलामा उदासीन बन्नुहुँदैन, त्यस्तै कुनै पनि ठूला निणर्यहरू लिनुहुँदैन । कुनै काम गर्ने हो भने केही समय योजना बनाउनुहोस्, अनुभवी र सिनियर्सको सुझाव ग्रहण गर्नुहोस्, अनिमात्र काम थाल्नुहोस् । विवादास्पद कामको जिम्मेवारी वहन गर्नुपर्दा धन लाभ भए पनि आत्मसम्मानमा बाधा पर्न सक्छ । बाध्यात्मक काममा सञ्चित धनको उपयोग हुनेछ ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
भाइबहिनी वा छोराछोरीसँग सम्बन्ध/सम्पर्क बढ्नाले मन प्रसन्न रहने छ, कुनै प्रतिस्पर्द्धा वा परीक्षामा सहभागी हुँदा सफल भइने छ । घरजग्गा व्यवसायीले कुनै लाभदायक सम्झौता गर्नसक्छन्, तर सहकार्यमा कुनै काम गर्दै हुनुहुन्छ भने अर्काको भरमा मात्र ढुक्क पर्नु ठीक हुँदैन । सबै कार्य सही ढंगले सम्पन्न भए पनि कतिपय काममा आफ्नै चित्त नबुझ्न सक्छ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
पेसागत स्थितिमा सुधार गर्नुछ भने योजना बनाएर काम थाल्न आजको दिन अनुकूल हुनेछ । अन्य दिनका तुलनामा धेरै खट्नुपर्ने समय हो । लेखन/प्रकाशनको काम, परामर्श सेवा, लेखा सेवा, कन्सल्टेन्सी, वकालत, शेयर मार्केट, कम्प्यूटरसम्बद्ध काम वा वाणीप्रधान कामबाट फाइदा लिने दिन हो । दाम्पत्य जीवन सुखमय नै रहनेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
शान्त र स्थिर मतिको उदय हुनेछ, परोपकारी समय हो, प्रेम र भाइचारालाई समेत जीवन्त तुल्याउन सकिने छ । ठूलाबडाको सहयोग लिन सके नबन्ने काम पनि बन्नसक्छ । तारिफयोग्य काम गरेर दङ्गपर्ने दिन हो, तर आज चुनौती र सङ्घर्षका माझमा काम निकालेर इज्जत जोगाउन सकिने समय हो ।