फागुन २५, काठमाडौँ । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

विभागका अनुसार देशका केही भागमा आज वर्षा र हिमपातको सम्भावना रहेको छ । केही प्रदेशमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको हो ।
सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भू–भागमा आज बिहान आंशिकदेखि सामान्य बदली रहेको छ । बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको छ ।
आज दिउँसो सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहनेछ । बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ । पहाडी भू–भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित क्षणिक वर्षाको सम्भावना रहेको छ । उच्च पहाडी तथा हिमाली भू–भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।
त्यस्तै आज राति गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका साथै बाँकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहने जनाएको छ । बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ । कोसी प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।