फागुन १३, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”ले शुक्रबार संसद्मा प्रतिनिधित्व गर्ने आठ दलबीच भएको सहमति राष्ट्रिय सहमतिकै प्रारूप भएको बताएका छन् । आज बालुवाटारमा महेन्द्रनारायण निधिको १०१ औँ जन्मजयन्तीको अवसरमा आयोजित “समसामयिक नेपाली राजनीति र निधिजीको विचार” विषयक विचार गोष्ठीमा बोल्दै प्रधानमन्त्रीले आठ दलबीच भएको सहमति राष्ट्रिय सहमतिकै प्रारूप भएको बताए ।

उनले भने, “हिजो संसद्का आठ दलबीच जुन सहमति भएको छ, त्यो ऐतिहासिक छ । त्यो राष्ट्रिय सहमतिकै प्रारूप हो । संसद्को सबैभन्दा ठूलो दलबाट राष्ट्रपति निर्वाचित हुन्छ । दोस्रो ठूलो दलको सभामुख र राष्ट्रियसभाको अध्यक्ष छ । तेस्रो दलको प्रधानमन्त्री छ । संसद्का अरू दलहरूबीच पनि समझदारीका साथ अगाडि बढेका छौँ । यो प्रक्रियाबाट हामी कोही पनि बाहिर छैनौँ । यो एकप्रकारले राष्ट्रिय सहमति नै हो ।” “नयाँ सरकार गठनपछि केही सूचक सकारात्मक देखिए पनि अर्थतन्त्र संकटमुक्त छैन ।
लामो त्याग र बलिदानबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्र र संविधानमाथिको खतरा टरिसकेको छैन, “फागुन ७ गते संविधानले नचिनेका नारा लागे । त्यो गम्भीर कुरा छ । हिजो जसरी संसद् विघटन गरियो, संविधानमाथि आक्रमण गरियो, त्यो प्रवृत्ति अन्त्य भइसकेको छैन । त्यसैले पनि लोकतान्त्रिक मूल्य मान्यता र संविधानका पक्षधर शक्तिहरू एकठाउँ उभिनुपर्छ, उभिएका छौँ ।”