पौष १८, काठमाडौँ । स्रोत नखुलेको भारतीय रूपैयाँसहित दुई जना पक्राउ परेका छन् । प्रहरीका अनुसार गौर नगरपालिका १ बाट स्रोत नखुलेको ४ लाख ४९ हजार ५ सय भारतीय रूपैयाँ सहित २ जनालाई सोमबार बिहान पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरूमा भारत मोतीहारी गोपालपुर बल्हाचोक बस्ने ३५ वर्षीय आजात कुमार मालाकार र सोही ठाउँ बस्ने २२ वर्षीय संजिव कुमार तिवारी रहेका छन् । भारतबाट नेपालतर्फ आउँदै गरेको बीआर ०५ एएन १५९० नम्बरको मोटरसाइकललाई प्रहरीले जाँच गर्ने क्रममा उक्त भारतीय रुपैयाँ सहित फेला पारी उनीहरूलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।
पेस्तोलसहित एक भारतीय नागरिक पक्राउ
बाराको सीमावर्ती नाका गुलरियाबाट सीमा सुरक्षा सशस्त्र प्रहरीले एक भारतीय नागरिकलाई एक थान पेस्तोल, म्यगागजिन र सात राउन्ड गोलीसहित आइतबार राति पक्राउ गरेको छ । प्रहरीका अनुसार पूर्वी चम्पारण मोतिहारी नगरपालिका वडा नं १६ का ४० वर्षीय चन्दन कुमारलाई आइतबार साँझ पक्राउ गरिएको हो । उनको साथबाट पत्नी, उनी आफैं र दाइको नाममा रहेको भारतीय आधार कार्डसहित ११ हजार २ सय ७० भारूसमेत बरामद गरिएको हो ।
अंग्रेजी नयाँ वर्षको चहलपहललाई लक्षित गर्दै आपराधिक गतिविधि गर्न नेपाल प्रवेश गरेको हुनसक्ने अनुमान गरिए पनि त्यसबारे विस्तृत अनुसन्धान गर्न नेपाल प्रहरीको इलाका प्रहरी कार्यालय सिम्रौनगढमार्फत जिल्ला प्रहरी कार्यालय कलैयाको जिम्मा लगाइएको छ ।