• २०८३ बैशाख १९ गते शनिवार

सुर्यदेवको दर्शन गरि दिनको सुरुवात गर्नुहोस

खबर२४ नेपाल पढ्न लाग्ने समय : ५ मिनेट

वि.सं. २०७९ भाद्र ०५ गते आइतवार तदनुसार ई. सं. २०२२ अगस्ट २१ तारिख, नल नामक संवत्सर, सूर्य दक्षिणायन, वर्षा ऋतु, कलिगत ५१२३, शाके १९४४, नेपाल सं. ११४२, किरातवर्ष ५०८२, मञ्जुश्री वर्ष २८५८, हिजरी सं. १४४४, नेपालमा सूर्योदय : बिहान ०५:३६ बजे र सूर्यास्त : साँझ ०६:३६ बजे, चन्द्रास्त : दिउँसो ०१:३१ बजे र चन्द्रोदय : मध्यरात्रीपछि ०१:०२ बजे, भाद्रपद कृष्णपक्ष (गुँलागा) दशमी तिथि, भोलि बिहान ०४:०९ बजेसम्म, त्यसपछि एकादशी तिथि, रोहिणी नक्षत्र, बिहान ०६:५४ बजेसम्म, त्यसपछि मृगशिरा नक्षत्र, चन्द्रमा बृष राशिमा, बेलुका ०८:०६ बजेसम्म, त्यसपछि मिथुन राशिमा

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
साथीभाइसँग उठबस हुने र रामरमाइलो गरिने समय हो, अनि मिठो खाने र राम्रो लगाउने तिर्सना मेट्दा मोटै धनराशि खर्च हुनसक्छ । नाफाका दृष्टिले राम्रै समय देखिन्छ, तर वाचा पूरा गर्न नसक्नाले सेवाग्राहीको आलोचना खेप्नुपर्ने हुन्छ, बोली र व्यवहारमा नम्रता अपनाउनु होला । सुखसुविधा बृद्धिका लागि विभिन्न सामाग्रीको किनमेल गरिने छ । दिन रमाइलो गरी बित्नेछ, खर्च बढे पनि मानसिकतामा त्यसको कुनै पनि प्रभाव पर्नेछैन ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
आत्मविश्वास जाग्ने राम्रो दिन छ । आलस्य नगरी नयाँ विषयको जानकारी लिएमा बौद्धिक क्षमतामा बृद्धि हुनेछ । भौतिक सुख र प्रतिष्ठाबृद्धिको चिन्ताले सताउने समय छ । चाहेको उपलब्धि प्राप्त हुनेछ, तर पनि महत्त्वाकाङ्क्षा बढ्नाले सन्तुष्टि भने नहुन सक्छ । रोकिएका काम बन्नाले नयाँ कामतर्फ अग्रसर भइने छ । अनुभवको प्रयोग गरेमा ठोस उपलब्धि प्राप्त हुनेछ, प्रतिष्ठित जिम्मेवारी हातलागी हुने समय हो ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
आनन्दप्राप्तिका लागि एकअर्काको कमजोरी खोतल्ने काम गर्नु हुँदैन, एकआपसमा समर्पित भएमा मात्र प्रेम सफल हुन्छ भन्ने कुरामा विश्वास गर्नुहोला । मनमा शान्ति र मुहारमा कान्ति छाउने सन्तोषजनक समय छ । प्रियजनसँग भेटघाट हुनेछ अथवा आश मारेको वस्तु वा धन हात पार्न सकिने छ । हिसाबकिताब र लेनदेनमा सतर्कता अपनाउनु होला, गल्ला र सेफको सुरक्षामा समेत ध्यान दिनुपर्छ । नयाँ लगानी हो भने सोचेर कदम चाल्नुहोला ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
पारिवारिक सुखमा अभिबृद्धि हुने तथा छोराछोरीबाट सन्तोष मिल्ने समय छ । ज्ञान वा अनुभवको प्रयोग गरी कुनै महत्त्वपूणर् विषयमा लाभ लिन सकिने छ । लक्ष्य प्राप्तिका निमित्त थप परिश्रम गरी लाभ पाउने समय हो । विदेश जाने सपना सँगाल्नु भएको छ भने योजना बनाउँदा शुभ हुनेछ । लाभमूलक काममा दिलचस्पी जाग्नेछ, व्यक्तित्व विकास तथा भौतिक सुखसुविधा जुटाउने सिलसिलामा नयाँ विचार र भावनाको उदय हुनसक्छ, लक्ष्यप्रति गम्भीर भएमा हरेक काममा सफलता मिल्नेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
हाकिम वा वरिष्ठ कर्मचारीसँग निकटता बढ्नाले विशेष लाभ लिनसक्ने समय हो, अतिरिक्त आम्दानी हुनाले तत्कालको गर्जो टार्न सघाउ पुग्नेछ । व्यवसायिक र आन्तरिक जीवनमा तालमेल मिलाउन हम्मेहम्मे पर्नेछ, समय निकालेर लवमेटसँग कुराकानी गर्नु बेस हुन्छ । रूप, लावण्य, सौन्दर्य र जीवनशैली देखेर अरु पनि प्रभावित हुनसक्छन् । आयस्रोत बढ्नुका साथै दिगो फाइदा हुने कामको शुभारम्भ हुनेछ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
नयाँ ठाउँको छोटो यात्राले आपसी सम्बन्धमा प्रगाढता छाउनेछ, सँगै बसेर छलफल गर्ने र मनका इच्छालाई सेयर गर्ने दिन हो । आज दाजुभाइ, बन्धुबान्धव वा ससुराली पक्षमा सम्पर्क गरी खबर आदान/प्रदान गर्ने दिन हो, उता कार्यक्षेत्रमा पनि सँगीसाथीका बीचमा सहकार्य र रामरमाइलो गर्ने अवसर मिल्नेछ । साझेदारीको कामबाट फाइदा हुनेछ । धार्मिक र आध्यात्मिक चेतना बढ्नेछ, इमानजमानको ख्याल राख्नु तथा नियमकानूनको पालना गर्नु उचित हुनेछ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
मनोरञ्जनमा केन्द्रित भइदिनाले पढाइ बिथोलिने दिन हो, सानो लापरबाहीले पनि भविष्य बिग्रन्छ भन्ने बुझेर थप मिहिनेत गर्नुपर्ने समय छ । अहङ्कार, अडान र आडम्बर कमजोरी बन्नसक्छन्, त्यसैले तिनलाई त्यागेर आफन्त र खासगरी जीवनसाथीको भावना बुझिदिनु, कुरा सुन्नु अनि आफू व्यवहारिक बन्नु राम्रो हुनेछ । चुनौतीभित्र अवसर खोज्ने समय छ । जटिल काममा पनि प्रयत्न गर्दा सकारात्मक सङ्केत प्राप्त हुनेछ, तर कागजपत्रमा सहीछाप गर्दा सतर्कता अपनाउनु होला ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
मन विचलित हुने र अत्यास लाग्ने समय हो । आफ्नै वा परिवारको कुनै स्वास्थ्यसम्बन्धी समस्याले खर्च बढाउन सक्छ । धार्मिक र रहस्यात्मक विषयमा रुचि जाग्नेछ । कलात्मक कार्य (अभिनय, गायन/वादन, नृत्य, भिडियो/चलचित्रको काम, डेकोरेशन, ड्रेस डिजाइनिङ) जस्ता काम अथवा उपहार वा मनोरञ्जनका सामाग्रीमा राम्रो देखिन्छ । रूपसौन्दर्य र गहनागुरियामा आकर्षण बढ्नेछ, सिर्जनात्मक काम गीतसङ्गीत, नृत्य/अभिनय वा कला र साहित्यका विषयमा रुचि जाग्ने समय हो ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
बेकरिङ, क्याटरिङ, फास्टफुड, माटोको सामाग्री, औजार, भाँडाकुँडा आदिका व्यवसायी खुसी हुने दिन हो, तर सेवाग्राहीको विश्वास जित्न केही समय लाग्नसक्छ । घमण्ड र जिद्दीपना त्याग्नसकेमा तर्क र बहसमा विजय प्राप्त हुनेछ, खिसीट्युरी गर्नेसित सतर्क रहनुपर्छ, नत्र ठूलो कलहको वातावरण बन्नसक्छ । विवाद, प्रतियोगिता वा प्रतिस्पर्द्धामा सरिक हुँदा चुनौती झेलेर अघि बढ्ने समय हो, योजनाबद्ध तैयारी गरे विजय तपाईंको पोल्टामा हुनेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
सम्झौता वा करार गर्न अनुकूल समय छ, दैनिक कामबाट समेत फाइदा नै हुनेछ, थोरै भए पनि दिगो लाभ हुने कुनै कामको थालनी हुनसक्छ । ईर्ष्या गर्नेहरूले आफ्ना प्रयास जारी राख्दासमेत तपाईंको बुद्धि र मिहिनेतले रङ देखाउने समय हो । व्यक्तित्व विकास वा थप अध्ययनको अवसर प्राप्त हुनेछ । कामबाट फुर्सद निकालेर सङ्केत र हाउभाउको प्रयोग गरी कतै घुमघाममा निस्कने वा किनमेलमा जाने अनुकूलता मिल्नेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
आयस्रोत र पदप्रतिष्ठामा बृद्धि होस् भन्ने उद्देश्यले सुरक्षित आर्थिक गतिविधिमा ध्यान दिनु आवश्यक देखिन्छ, तपाईंभित्रको आन्तरिक ऊर्जा र साहसी मनोवृत्तिले सकारात्मक परिणाम प्रदान गर्नेछ । पुराना वा तामेलीमा परेका काम दोहोर्याएर गर्ने परिस्थिति छ । अतिरिक्त आम्दानी हुनाले घरायसी सुखसुविधाका वस्तुहरूको किनमेल हुने सङ्केत छ । परिबन्द र बाध्यतामा खुम्चनु पर्दा मन निरस बन्नसक्छ, चाहँदाचाहँदै पनि पार्टनरको इच्छानुसार समय दिन नपाउँदा झन नरमाइलो लाग्नसक्छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
कामप्रतिको समर्पण भावका माध्यमबाट ठूलो लाभ मिल्ने समय छ, साथै बोली र व्यवहारका बलमा सेवाग्राहीलाई आकर्षित तुल्याउन सकिने छ । घरपरिवारभित्र कसैको पेसागत वा व्यवसायिक उन्नतिको समाचार सुन्न पाइने छ, त्यस्तै पारिवारिक जमघट वा भोजभतेरमा सहभागी बन्नुपर्ने दिन छ । मित्र र शुभचिन्तकको साथ/सहयोग प्राप्त हुनेछ, नजानेको कुरा गुरुवर्ग वा दिदी/दाजुका माध्यमबाट जान्न सकिने छ ।

Sharing

प्रतिक्रिया दिनुहोस