जेठ २७, सल्यान । सल्यानका छुट्टाछुट्टै दुई स्थानमा शुक्रबार साँझ यात्रुवाहक जिप र ट्याक्टर दुर्घटना हुँदा सात जना घाइते भएका छन् । दाङको तुलसीपुरबाट कपुरकोट गाउँपालिका १ गर्पा जाँदै गरेको रा १ ज ४६० नम्बरको यात्रुवाहक जिप कपुरकोट गाउँपालिकाको खालीमा दुर्घटना हुँदा ६ जना घाइते भएका हुन् ।
![]()
१२ जना सवार जिप दुर्घटना हुँदा घाइते हुनेमा कपुरकोट गाउँपालिका १ का २९ वर्षीय खिमबहादुर पुन, ३५ वर्षीय श्रवणकुमार घर्ती, ६२ वर्षीया भद्री बुढा, सोही गाउँपालिका वडा नं ५ का ७० वर्षीया कलसी बस्नेत, वडा २ की ६० वर्षीया पार्वती ओली, रोल्पा रुन्डीगढी गाउँपालिकाकी ६३ वर्षीया वनकला घर्ती रहेका हुन् । जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार यात्रुवाहक जिप दुर्घटनामा घाइते भएका सबैलाई दाङको तुलसिपुरस्थित राप्ती उपक्षेत्रीय अस्पतालमा उपचार गरिएको छ ।
यस्तै बन्गाड कुपिण्डे नगरपालिका १२ निगालचुलामा भे १ त ८८४१ नम्बरको ट्याक्टर दुर्घटना हुँदा चालक जाजरकोटको शिवालय गाउँपालिका ३ का २० वर्षीय ललित थापा घाइते भएका हुन् ।
ट्याक्टर दुर्घटनामा परी घाइते भएका चालकलाई उपचारको लागि जिल्ला अस्पताल सल्यान ल्याउने तयारी गरिएको प्रहरीले जनाएको छ ।