फागुन ३, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले होलीमा खेलिने विविध रंग जस्तै नेपाली समाज जातीय‚भाषिक र सांस्कृतिक रूपमा विविधतापूर्ण रहेको बताउनु भएकाे छ। फागुपूर्णिमा (होली) पर्वको अवसरमा स्वदेश तथा विदेशमा रहेका नेपालीलाई शुभकामना दिँदै उहाँले विविधता बीचको एकता नै नेपालीको पहिचान र सामर्थ्य बनेको बताउनु भएकाे हाे।

नेपालीबीच आपसी प्रेम, सद्भाव र सहिष्णुता अभिवृद्धि गर्दै राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन फागुपूर्णिमा (होली) पर्वले योगदान पुर्याउने राष्ट्रपति भण्डारीले विश्वास गर्नुभएकाे छ। वैदिक परम्परादेखि नै समाजमा असल र खराबबीच द्वन्द्व चल्दै आएतापनि सत्यको विजय नै अवश्यम्भावी हुने सार्वभौम सिद्धान्तलाई यस पर्वले प्रखर रूपमा अभिव्यक्त गर्दछ।
राष्ट्रपति भण्डारीले अन्यायमाथि न्यायको, दूराचारमाथि सदाचारको विजय भएको खुसियालीमा मनाइने सांस्कृतिक पर्व होली भएको उल्लेख गर्नुभएकाे छ। ‘हाम्रा पौराणिक ग्रन्थहरूमा फागुपूर्णिमा एवं होली पर्वका अनेकौं प्रसङ्गहरू उल्लेख हुनुले यसको प्राचीनता पुष्टि हुन्छ। वैदिक परम्परादेखि नै समाजमा असल र खराबबीच द्वन्द्व चल्दै आएतापनि सत्यको विजय नै अवश्यम्भावी हुने सार्वभौम सिद्धान्तलाई यस पर्वले प्रखर रूपमा अभिव्यक्त गर्दछ। अन्यायमाथि न्यायको, दूराचारमाथि सदाचारको र अधर्ममाथि धर्मको विजय भएको खुशियालीमा मनाइने सांस्कृतिक पर्व फागुपूर्णिमा (होली) हो।’सन्देशमा भनिएको छ, ‘समाजमा विद्यमान दुष्प्रवृत्तिलाई पराजित गर्दै सत्य र न्यायको पक्षमा अविचलित रूपले क्रियाशील रहन यस पर्वले प्रेरणा प्रदान गर्दछ भन्ने मलाई लाग्दछ।’
उहाँले विकृति, विसङ्गति एवम् कुरीतिहरूलाई निर्मूल गर्दै न्यायपूर्ण‚सभ्य र सुसंस्कृत समाज निर्माण गर्न होली पर्वबाट सबैमा प्रेरणा मिलोस् भन्ने शुभकामना व्यक्त गर्नुभएकाे छ। ‘हाम्रो संस्कृतिका असल पक्षहरूलाई प्रवर्द्धन गर्न पर्वहरूलाई मितव्ययी र विकृतिरहित राख्नुपर्दछ। हरेक पर्वसँग गाँसिएको इतिहास, सभ्यता र पौराणिकताको गहिराई आत्मसात् गर्न सके मात्र हाम्रो अद्वितीय संस्कृतिको मौलिकता जोगाउन सकिन्छ।’ शुभकामना सन्देशमा भनिएको छ,‘समाजमा विद्यमान विभिन्न प्रकारका विकृति, विसङ्गति एवम् कुरीतिहरूलाई निर्मूल गर्दै न्यायपूर्ण‚ सभ्य र सुसंस्कृत समाज निर्माण गर्न फागुपूर्णिमा अर्थात् होली पर्वबाट हामी सबैमा प्रेरणा मिलोस् भनी शुभकामना व्यक्त गर्दछु।’
वसन्त ऋतुका अनेक रङ्ग प्रतिविम्बित गर्ने पर्वका रूपमा प्रत्येक वर्ष फाल्गुण शुक्ल पूर्णिमाको दिन हिमाली, पहाडी तथा भित्री मधेशका जिल्लाहरूमा र त्यसको भोलिपल्ट तराईका जिल्लाहरूमा विभिन्न रङ तथा अबिर खेल्दै खुशियालीपूर्वक फागुपूर्णिमा (होली) मनाउने परम्परा रहेको छ।