फागुन १७, काठमाडौं । नेकपा एमाले निकट युवा संगठन राष्ट्रिय युवा संघ नेपालले सुर्खेतमा नेकपा एमालेको पारटी कार्यालय जलाउनुलाई आपराधिक एवं अराजकताको पराकाष्टा बताएको छ । संघले आज प्रेस विज्ञप्ती जारी गर्दै यस्तो अराजक तथा आपराधिक घटनाप्रति घोर विरोध र भर्त्सना गर्दै यस्ता खाले गतिविधी गर्ने तत्वहरुलाई पहिचान गरी कडाभन्दा कडा कार्वाहीको माग गरेको छ ।

संघका संयोजक किरण पौडेलको हस्ताक्षर सहितको पत्रमा भनिएको छ : हिजो मिति २०७८ साल फागुन १६ गते सोमबारका दिन नेपाल कम्युनिष्ट पार्टी लगायत ६ दलहरूले गरेको कथित नेपाल बन्दका क्रममा नेकपा (एमाले) सुर्खेत जिल्ला कमिटीको कार्यालयलाई लक्षित गरी आक्रमण गर्ने दुस्प्रयासको घटना प्रति राष्ट्रिय युवा संघ नेपालको गम्भिर ध्यानाकर्षण भएको छ । नेपाली समाजको प्रगतिशिल रूपान्तरणमा नेतृत्वदायी भूमिका निर्वाह गरी समृद नेपाल, सुखी नेपालीको आधार तयार गरिरहेको शान्तिपूर्ण लोकतान्त्रिक बाटोबाट अगाडि बढिरहेको तथा हाल प्रतिपक्षमा रहेको देशभक्त, जनवादी र क्रान्तिकारी पार्टी नेकपा (एमाले) को सुर्खेत जिल्ला कार्यालयमा आक्रमण गर्नु भनेको आपराधिक एवं अराजकताको पराकाष्टा हो।
राष्ट्रिय युवा संघ नेपाल यस अराजक तथा आपराधिक घटनाप्रति घोर विरोध र भर्त्सना गर्दै यस्ता खाले गतिविधी गर्ने तत्वहरुलाई पहिचान गरी कडाभन्दा कडा कार्वाहीको माग गर्दछ । नेकपा (एमाले) का विरुद्ध भैरहेको चौतर्फी प्रतिक्रियावादी घेरावन्दी र पार्टी कार्यालयको आक्रमण प्रति सशक्त प्रतिवादमा उत्रिन मातहत कमिटीलाई निर्देशन गरिन्छ ।
