माघ ६, काठमाडौं। इङ्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडले सहत जित हासिल गरेको छ । बुधबार राति भएको खेलमा युनाइटेडले ब्रेन्टफोर्डलाई ३–१ ले हराएको छ ।

पहिलो हाफ गोलरहित बराबरी खेलेको युनाइटेडले ५५औं मिनेटमा एन्थोनी एलान्गाको गोलबाट अग्रता लिएको थियो । १९ वर्षे एलान्गाको प्रिमियर लिगमा यो चौथो खेल हो । उनले फ्रेडको पासमा गोल गरेका हुन् । मासन ग्रिनउडले ६२औं मिनेटमा अग्रता दोब्बर बनाए । ७७औं मिनेटमा मार्कुस राशफोर्डले तेस्रो गोल थपेपछि युनाइटेड सहज जित निकाल्न सफल भएको हो ।
जितपछि २१ खेलबाट ३५ अंक जोडेको म्यानचेस्टर युनाइटेड सातौं स्थानमा छ । जुन चौथो स्थानको वेष्ट ह्यामभन्दा दुई अंकले पछाडि हो । तथापि, वेष्ट ह्यामले एक खेल बढी खेलेको छ । १९ खेलबाट ३६ अंक जोडेको टोटनहम पाँचौं स्थानमा छ भने २० खेलबाट ३५ अंक जोडेको आर्सनल छैटौं स्थानमा छ । पराजित ब्रेन्टफोर्ड २३ अंकका साथ १४औं स्थानमा छ ।